धरान : गोधुली रनिङ कप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ।

आज धरान रङ्गशालामा क्वाटर फाइनलका चार वटै खेल सम्पन्न भएका छन् । वडा नं. १४, १६, ८ र १८ ले आ-आफ्नो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेका छन्। आज भएको पहिलो क्वाटर फाइनल खेलमा वडा नं. १४ ले वडा नं. १५ लाई सडनडेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४/४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो । खेलको पाचौ मिनेटमा नै १४ नं. वडाका मदन लाबुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

१५ नं. वडाका सुसन तामाङले २८ औँ मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । पहिलो पेनाल्टी प्रहार गर्न आएका १४ नं. वडाका विवेक राईले गोल गर्न चुकेका थिए। त्यसपछि सन्दीप राई, सौगात गुरुङ, मीन श्रेष्ठ र बिटु तामाङले गोल गरेका थिए ।

सडनडेथमा १४ नं. वडाका सुसन तामाङ, विपिन श्रेष्ठ, आशिष् पुरी र वर्षात तामाङले गोल गरे । १५ नं. वडाका मदन लाबुङ, आशुतोष राई, बावरिङ कार्की र वसन्त राईले गोल गरे भने नगेन्द्र राई गोल गर्न चुके। सडनडेथमा १५ नं. वडाका सुगम जिमी, मिलन लिम्बू र सन्दीप लिम्बूले गोल गर्दा सुवास मगर गोल गर्न चुके।

खेलमा विजयी भएको साविकको विजेता समेत रहेको १४ नं. वडाले भोलि हुने पहिलो सेमिफाइनलमा साबिक उप विजेता १६ नं. वडाको सामना गर्नेछ । खेलको म्यान अफ द म्याच १४ नं. वडाका राविज खड्का घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

आज भएको दोस्रो खेलमा वडा नं. ८ ले वडा नं. १८ लाई १-० गोल अन्तरले पराजित गरेको छ । ८ नं. वडाका राजन थापा मगरले खेलको ३५ औँ मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद रु २ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा १८ नं. वडाले गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

आज भएको तेस्रो खेलमा वडा नं. १६ ले वडा नं. १९ लाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । १६ नं. वडाका लागी सरोज लकान्द्रिले २ गोल गरे भने शैलेन्द्र नेपालले एक गोल गरेका थिए । २ गोल गरेका लकान्द्री खेलको म्यान अफ द म्याच समेत घोषित भए।

उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो । वडा नं. १९ का लागी इन्सान राईले एक गोल गरेका थिए । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा ११ नं. वडालाई पराजित गर्दै वडा नं. १३ पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

१३ नं. वडाकालागी मिलन लिम्बूले २ गोल गरे भने ११ नं. वडाका रिवस मास्केले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच १३ नं. वडाका विवेक राई घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

भोलि दुवै सेमिफाइनल खेल धरान रङ्गशालामा हुनेछन् । भोलि पहिलो सेमिफाइनल दिउसो १ बजे गत वर्षको विजेता १४ र उप विजेता १६ नं. बडाबिच हुनेछ भने अर्को सेमिफाइनल खेल वडा नं. १३ र ८ बिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु. ७५ हजार पुरस्कार जित्नेछन भने शीर्ष आठ टिमले लिग गेम खेल्न पाउनेछन् ।