धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नर्सिङ अध्ययनरत एक छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

बि.एस्सी.नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टल रुममा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीका अनुसार मृतक देवसँग रुम पार्टनर पनि थिए । तर, उनको आज बिहान डिउटी थियो । त्यसैले घटनाको बेला अञ्जना मात्र होस्टलमा थिइन् ।

बिहान कलेज लाग्ने भएकोले अञ्जना साढे ७ बजेतिर होस्टल रुमबाट निस्केकी पनि थिइन् । तर, उनी पुनः कोठामा फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक वलीले बताए । ‘कलेज हिडे पनि उनी फेर रुममा नै फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’उनले भने,‘रुम पार्टनर साथी डिउटी सकेर आउदा ढोका खुलेन, र चेपबाट चिहाएर हेर्दा झुण्डिएको देखिन् ।’

साथीले झुण्डिएको देखेपछि हल्लीखल्ली भयो । कोठामा पछाडिपटिको ढोका खुला थियो । त्यहाँबाट भित्र छिरेर साथीहरुले नै मृतकलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म उपचार गर्न पुर्याएका थिए । ‘बाँच्छन् कि भनेर साथीहरुले इर्मजेन्सीसम्म पुर्याएका रहेछन्, तर उनको मृत्यु भइसकेछ,’प्रहरी निरीक्षक वलीले भने । सप्तरी मुल घर भएपनि मृतक देवको बुबा आमा हाल विराटनगर बस्दै आएका छन् । विराटनगरबाट मृतकका अभिभावकहरु आइपुगेपछि विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ । मृतकको शव वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा नै राखिएको छ ।