धरान: लक्ष्मी वाचनालय धरानको आयोजनामा आइतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको छ ।

धरान १, लक्ष्मीचोकमा अवस्थित वाचनालयको सभाहलमा पुष्पराज ढकालको सभापतित्व तथा प्रा.डा. गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यत्रममा झापा सुरुङ्गा निवासी साहित्यकार कोमल प्रसाद पोख्रेल, उदयपुर निवासी साहित्यकार राममणि पोख्रेल र विमल स्मृति पुस्तकालय धरानका संस्थापक तथा सञ्चालक पूर्णबहादुर गुरुङ्लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्व.कवि योगेश्वर भट्टराईद्वारा लिखित ‘दूधपोतेको ढुङ्गो’ खण्डकाव्यको लोकार्पणसमेत गरिएको थियो । उक्त कृतिमाथि कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले परिचर्चा गरेका थिए । कार्यक्रममा प्रा.डा.खेम दाहालले नेपाली साहित्यका क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको विषयमा प्रकाश पारेका थिए ।

devkota

वि.सं १९६६ सालमा जन्मिएका देवकोटाले नेपाली साहित्यको कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, उपन्यास आदि अनेक विधामा कलम चलाएका छन् । नेपाली काव्य जगत्मा उनको योगदानलाई अविस्मरणीय ठानिन्छ । देवकोटालाई बहुमुखी प्रतिभाका धनी व्यक्तित्व मानिन्छ । राष्ट्रप्रेम, प्रकृतिप्रेम, आशुकवित्व, स्वतःस्फुर्तता, आलङ्कारिकता, तार्किकता आदि उनका काव्यगत विशेषताहरू रहेका छन् ।

कार्यक्रममा साहित्यकार गोविन्द तिम्सिना, मनि राई गोठाले, श्रेष्ठ परिक्रमा, हिक्मत खड्का, प्रफुल्ल भण्डारी, राजीव आचार्यलगायतले कविता सुनाएकाथिए । लक्ष्मीचोकमा अवस्थित महाकवि देवकोटाको सालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमनसमेत अर्पण गरिएको थियो ।

devkota1