सामाजिक सञ्जाल ट्वीटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ।

उसले राजनीतिक सन्देशहरूको पहुँच खरिद गरेर नभई कमाएर हुनुपर्ने बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्, "इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा ठूलो जोखिम निम्त्याउँछ।"

ट्वीटरको प्रतिद्वन्द्वी रहेको अर्को सामाजिक सञ्जाल फेसबुकले हालै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने कुराको खण्डन गरेको थियो। सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको सन्दर्भमा विभिन्न राजनीतिक खेमाहरूबीच पछिल्लो समाचारबारे फरक मत देखिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक प्रचार अभियानका व्यवस्थापक ब्राड पास्कलले ट्रम्प र कन्जरभेटिभहरूलाई चुप पार्नका निम्ति विज्ञापनमाथिको प्रतिबन्ध अर्को प्रयास भएको प्रतिक्रिया दिए। तर डेमोक्र्याट उम्मेदवार जो बाइडेनको प्रचार अभियानका प्रवक्ता बिल रुसोले भनेका छन्, जब विज्ञापनका डलर र हाम्रो लोकतन्त्रको निष्ठामध्ये एउटा रोज्नुपर्ने हुन्छ तब पैसाले नजित्ने कुरा उत्साहजनक हुन्छ।