सुनसरी: बिमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा नेपालगञ्जका रसिक राज प्रथम भएका छन् ।

स्वर्गीय गुरुङको ४९ औँ जन्मजयन्ती तथा २९ औँ बिमल गुरुङ राष्ट्रिय कविता प्रतियोगिताको अवसरमा मंगलबार धरान १८ बुद्धचौकस्थित पुस्तकालयको भवनमा आयोजित प्रतियोगितामा उनको 'कालो मान्छे' शीर्षकको कविता प्रथम भएको हो । त्यस्तै, प्रतियोगितामा सोलुखुम्बुका गणेश प्रसाद खतिवडाको 'आस्था र अस्तित्व' शीर्षकको कविता द्धितीय भयो भने गोर्खाका सन्तोष खनालको 'माटो जिन्दगी' शीर्षकको कविता तृतीय भयो ।

धनकुटाका सरोज कटवालको ओखरबोट र चराहरु शीर्षकको कविता सान्त्वना भएको थियो । उनीहरुले क्रमशः बीस हजार, पन्ध्र हजार, दश हजार र पाँच हजार नगद सहित प्रमाणपत्र हात पारे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

rasik2

देशभरीबाट करीब डेढ सय बढी कविता संकलन भएको र त्यसमध्येबाट उत्कृष्ट १० कविता छनौट गरिएको थियो । पु्स्तकालयले प्रत्येक बर्ष स्वर्गीय बिमलको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्दै आएको पुस्तकालयका अध्यक्ष तथा बिमलका पिता पूर्णबहादुर गुरुङले बताए । कार्यक्रममा पत्रकार गोपाल दाहाल र फरक क्षमताकी धनी तथा साहित्यकार लक्ष्मी राईलाई सम्मान गरिएको थियो । दुवैलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

gopal