औजार : आजको औजार दैनिकमा “धरानबाट उद्धार गरिएका बालकहरुलाई कपडा वितरण” शीर्षकको समाचार छापिएको छ । धरान र दमकबाट उद्धार गरिएका सडकमा आश्रित बालहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बालबालिका खोज तलास केन्द्रको सक्रियतामा सुनसरीको धरान र झापाको दमकबाट उद्धार गरि इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा राखिएका बालकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । बालबालिका खोजतलास केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारी, भ्वाइस अफ चिल्ड्रेनका भरत थापा लगायतले संरक्षणमा राखिएका ३६ जना बालकहरुलाई जाडोमा लगाउने ट्रयाकसुट र टोपी वितर गरे । अब उनीहरुको अवस्था बारे बुझेर सोही अनुसार पुनःस्थापनामा पठाइने बालबालिका खोजतलास केन्द्रका सन्तोषचन्द्र अधिकारीले जानकारी दिए । हालै धरान र दमकबाट उद्धार गरिएका बालकहरुलाई तत्कालका लागि चिल्ड्रेनमा राखिएको हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “चोरीको गाडी र गिरोह खोज्न प्रहरीको ‘स्वीप अप्रेसन’” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को राजधानी शहर विराटनगरसहित मोरङ जिल्लामा सवारीसाधन चोरी हुन थालेपछि मोरङ प्रहरीले स्वीप अप्रेसन सुरु गरेको छ । चोरी भएको सवारी साधनको खोजी गरी चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न प्रहरीले स्वीप अप्रेसन सुरु गरेको हो । चालू आर्थिक वर्षको पाँच महिनामा जिल्ला प्रहरी कार्यालय मोरङमा सवारी साधन चोरीका ४२ वटा उजुरी परेको छ । प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिका क्षेत्रमा सवारी साधन चोरी हुन थालेपछि प्रहरीले चोरको गिरोह र सवारी साधन खोज्न स्वीप अप्रेसन सुरु गरेको हो । स्वीप अप्रेसन सुरु गरेपछि चालू आर्थिक वर्षको मंसिरसम्ममा २२ वटा चोरीको सवारी साधन नियन्त्रणमा लिएको छ ।

यसैगरी आजको ब्लाष्टमा विद्यार्थीद्वारा डिन कार्यालयलाई दुईदिने अल्टिमेटमको समाचार छ । नेपाल इन्जिनियरिङ काउन्सिलले स्नातक तहको चार वर्षे इलेक्ट्रिकल इञ्जिनियरिङ फ्याकल्टिबाट पास आउट भएकालाई मान्यता नदिएपछि डिनको कार्यालयलाई समस्या समाधान गर्न विद्यार्थीहरुले दुईदिने अल्टिमेटम दिएका छन् । काउन्सिलले पूर्वाञ्चल इञिजनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इञ्जिनियरिङ उतीर्ण गरेका दुई ब्याचका विद्यार्थीहरुलाई मान्यता नदिएपछि विद्यार्थीहरुले आफ्नो भविष्य अन्यौल भएको भन्दै डिनको कार्यालयलाई दबाब दिएका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “५ महिनामा १८ पुरुष वेपत्ता” शीर्षकको समाचार छापिएको छ । इटहरी ४ की रिजु कुरुवाङले श्रीमान वेपत्ता भएको भन्दै साउन २८ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजतलासको लागि निवेदन दिईन् । इटहरीमै सामान्य व्यवसाय गर्ने श्रीमान सागर पाँच महिनादेखि वेपत्ता भएपछि दुई छोराछोरी सहित उनको अवस्था दयनिय बनेको छ । श्रीमानको कमाइले घर खर्च धान्ने उनको परिवार यतिबेला तनावसँगै विहान बेलुका के खाने भन्ने चिन्ताले पिरोल्ने गरेको छ । रिजु अहिले माइतीको शरणमा छिन् । उनी श्रीमान कतै भेटिए कि भनेर प्रहरी कार्यालय धाउने गर्छिन् ।