धरान: घरको धारामा पानी नआएर काकाकुल बन्नुपरेको भन्दै धरान उपमहानगरपालिका वडा नं ९ का बासिन्दाहरु आन्दोलिन भएका छन् ।

पानी पिउन नपाएर आक्रोशित वडाबासीहरुले आज खानेपानी संस्थानको धरान शाखा कार्यालयमा करिब २ घण्टा तालाबन्दी पनि गरे । वडा अध्यक्ष रत्न कटवालको नेतृत्वमा खाली गाग्री, गिलेन बोकेर र्यालीसहित वडाबासीहरु संस्थान घेराउ गर्न पुगेका थिए । त्यसक्रममा केहीबेर संस्थान परिसर तनावग्रस्त पनि बन्यो । वडाबासीहरुले संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठलाई घेराउ गर्दै आक्रोश पोखेका थिए ।

water1 1

वडाबासीहरुले संस्थानको मुलगेटमा तालाबन्दी पनि गरेका थिए । तालाबन्दी झण्डै २ घण्टा पछि खोलिएको थियो । वडाबासीहरु केहीबेर धर्ना पनि बसेका थिए । संस्थानले कृत्रिम खानेपानी अभाव सृर्जना गरेर निजी ट्यांकर व्यवसायी र पानी उत्पादक उद्योगहरुसँग कमिशन लिइरहेको वडाअध्यक्ष कटवालले आरोप लगाए । ‘संस्थानसँग चै पानी नहुने, निजी ट्यांकरले चै जतिबेला पनि पानी दिने । यो सब कमिशनको खेल हो,’वडाअध्यक्ष कटवालले भने,‘कमिशनको खेलले गर्दा जनताले दुःख पाइरहेको छ ।’

भोलीदेखि वडाका जनप्रतिनिधिहरुले २ घण्टा संस्थानमा धर्ना लिने घोषणा गरेको छ । वडाबासीहरुले धारामा पानी नआएर ज्यादै दुःख पाइरहेको बताएका छन् । वडा कार्यालयले अबदेखि संस्थानलाई शुल्क नतिर्न पनि वडाबासीहरुलाई आग्रह गरेको छ । पर्याप्त पानी आउने वातावरण नभएसम्म वडा कार्यालयले नै पैसा बुझ्ने र जरिवाना तिर्नुपर्ने भए वडाले नै जिम्मा लिने जनाएको छ ।

water3

water 1