इटहरी : इटहरी ५ का हरी प्रसाद आर्चायले ८ बर्षको उमेर देखिनै गाईपाल्दै आएको छ । अहिले पनि उनले १४ वटा गाई पालिरहेको छ । उनले गाई पाल्न थालेको यतिका बर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाए ।

इटहरी उपमहानगरले अनुदानमा कुटी काट्ने मेसिन र दुध राख्ने क्यान प्रदान गरेपछि ७६ बर्षका जेष्ठ नागरिक आचार्य निक्कै खुशी देखिन्थ्यो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले आज १५ जनालाई कुटिकाट्ने मेसिन, ५ जनालाई दुई दुइवटा क्यान र पाँचजनालाई क्रिम निकाल्ने मेसिन प्रदान गरिन् । उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर बनाउन विभिन्न सामाग्री प्रदान गरिएको बताइन् । उनले सात लाख बराबरको सामाग्री प्रदान गरिएको बताईन् । सामाग्री प्राप्त गर्ने इटहरी ७ का कृषक रमेश भट्टराईले स्थानीय सरकार पशुपालक कृषकका साथमा भएको आभाष मिलेको बताए । उपमहानगरले पचास देखि सत्तरी प्रतिशत अनुदानमा ती समाग्री वितरण गरेको हो ।