धरान : धरानमा आजदेखि बसाईँ नाटक मञ्चन हुने भएको छ । चर्चित उपन्यास बसाइँँ लीलबहादुर क्षेत्रीले लेखेका हुन् । उनको यो उपन्यास पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म परिचित रहेको छ ।

सोही उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् तरहराका विनय सरगमले । सरगमले भने, ‘नाटक रुपान्तरण गर्दा उत्साहित थिएँ, रिहर्सल हेर्दा त आँशु नै आयो ।’ उनले नाटक हेरिसकेपछि जो कोही मानिसले पनि जीवन बुझ्ने र नाटकको माध्यमबाट समाज चिनिने बताए ।

नाटकका निर्देशक मिलन चाम्लिङका अनुसार यहि नाटक १३ गतेसम्म धरानको सदन स्कुलको हलमा प्रदर्शन हुनेछ । आज ४ बजेदेखि प्रदर्शन गर्न लागिएको नाटकको दर विद्यार्थीलाई एक सय र अन्य मानिसहरुलाई भने दुई र तीन सय रुपैँया तोकिएको छ ।

रंगभूमी एकेडेमीले उक्त नाटक प्रस्तुत गर्न लागेको हो भने नाटकमा विकास पराजुली, शंकर थापा, तुलसा थापा, गोमा पौडेल, मिलन भुजेल, सन्देश दाहाल, बलबहादुर राई, एनुमा राई, मिलन चाम्लिङले अभिनय गर्नेछन् । नाटकको संगीत संयोजन बिनायक राईले भरेका छन् भने प्रकाश संयोजक हरि ल्वाहाङ लिम्बु रहेका छन् ।