चेन्नई : तमिल अभिनेता विजय विवादमा परेका छन् । कर छलीलाई लिएर उनी विवादमा तानिएका हुन् । आयकर विभागले अभिनेता विजयको घर र फिल्म निर्माण कम्पनी कम्पनीसहित ३८ वटा परिसरबाट विभागले ७७ करोड भारू जफत गरेको थियो । उनीसहित लगानीकर्ता जिएज अन्बु चेझियान र विरतरकको चेन्नई र मदुरैमा रहेको विभिन्न परिसरबाट सो रकम जफम गरिएका थिए । सो खबर थाहा पाएलगत्तै उनी ‘मास्टर’ फिल्मको सुटिङ रोकेर घर फर्किएका थिए ।

आयकर विभागका स्रोतका अनुसार जफत गरिएका रकम अभिनेता विजयको सुपरहिट फिल्म ‘बिजिल’ का लगानीकर्ताको हो । ‘अभिनेता विजयले कर छली गरेको विषयमा विभागबाट खटिएको टोलीले उनीको मातहतमा रहेको विभिन्न परिसरबाट ७७ करोड भारू जफत गरिएको छ । जफत गरिएको रकमको स्रोतसम्बन्धमा अनुसन्धान सुरु भएको छ,’ विभागकी प्रवक्ता सुरभी अल्लुवालीले भनिन्, ‘फिल्म क्षेत्रमा चार मुख्य फिल्मकर्मीहरूको घर र अफिसबाट सो रकम जफत गरिएका हुन् ।’

अभिनेता विजयको ‘बिजिल’ ले बक्स–अफिसमा तीन सय करोड कलेक्सन गरेको थियो । सो फिल्मका वितरक बस्दै आएको घरबाट ७७ करोड जफत गरिएको विभागले जनाएको छ । कर छलीको आशंकामा अनुसन्धान सुरु गरिने भएको छ । सो फिल्ममा अभिनेता विजयसहित नयनतारा, ज्याकी श्राफ र योगी बाबुलगायत कलाकारले अभिनय गरेका थिए ।