इटहरी : सप्तकोशी नदिमा चल्दै आएका जेटबोटहरु अनिश्चितकालको लागि बन्द हुने भएको छ । जेटबोटकै कारण पछिल्लो समय राम्रो पर्यटकीय गन्तव्य बन्दै गएको चतरास्थित सप्तकोशी नदीमा सुरक्षा र कानुन नभएको भन्दै संचालकहरुले अनिश्चितकालको लागि बन्द गर्ने भएका हुन् ।

सप्तकोशी नदिका जेटबोट संचालकहरुले बुधवार एक बिज्ञप्ति जारि गर्दै राज्यले जेटबोट सम्बन्धि आवश्यक कानुन र सुरक्षा उपलब्ध नगराएको भन्दै अनिश्चितकालको लागि बन्द गर्ने उल्लेख गरेका हुन् । अहिले सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीले सप्तकोसीमा ६ वटा जेटबोट चलाइरहेका छन् ।

१८ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट कोशीमा छन् । जसले तराइ र पहाडको दुरी जलमार्गबाट घटाएर पर्यटनमा समेत टेवा दिएको आएको छ । सार्वजनिक बिदामा धरान, इटहरी, विराटनगरलगायत पूर्वका सहरबाट आउनेहरूको भीड जेटबोटमा हुने गर्थ्यो ।