इलाम :  छैटौ संस्करणको माईभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ ।

बर्षाले बाधक बनेको खेलमा निया एन्ड्रिसको निर्णायक गोलको मद्धतमा आयोजक माईभ्याली फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्रले सिजनको दोश्रो उपाधि आफनो पक्षमा पारेको हो । उपाधिसंगै मछिन्द्रले नगद ८ लाख रुपैया हात पारेको छ । इन्जुरी समयमा राइट फ्ल्याङकबाट एन्ड्रिसले गरेको प्रहारले सिधै जाली चुमेको थियो । खेलमा दुवै टिमबाट केही राम्रा अवसरहरु सृजना भएपनि मैदानका कारण उपयोग गर्न सकेनन् । दोश्रो हाफमा पानी परेपछि ठुलो टुडिखेलमा हिलाम्मे हुँदा पेनाल्टी एरियाका अवसरहरु सदुपयोग गर्न दुवै टिम चुके ।

Ilam-Final

उपविजेता बनेको आयोजकले नगद ५ लाख रुपैया प्राप्त ग¥यो । खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता एन्ड्रिस घोषित हुँदै नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताको व्यक्तिगत विधामा मछिन्द्रका ३ जना र आयोजकका ३ जना खेलाडीले पुरस्कार प्राप्त गरे । प्रतियोगिताको बेष्ट डिफेन्स आयोजकका कप्तान छिरिङ गुरुङ, उत्कृष्ट गोलकिपर आयोजकका देव लिम्बु, उत्कृष्ट मिडफिल्डर मछिन्द्रका योगेश गुरुङ, उत्कृष्ट स्ट्राइकर मछिन्द्रका निया एन्ड्रिस र प्रशिक्षक मछिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरुले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका शरण बस्नेत घोषित हुँदै नगद १ लाख १५ हजार प्राप्त गरे ।

Ilam-Final-3

लिगपछि सहभागीता जनाएको ३ वटा प्रतियोगितामा मछिन्द्रको यो दोश्रो उपाधि हो । यसअघि तेश्रो सताक्षी गोल्डकपमा थ्रीस्टारलाई हराउँदै मछिन्द्रले सिजनको पहिलो उपाधि जितेको थियो । २२ औ बुढासुव्वामा सेमीफाइनलमा नेपाल पुलिससंग पराजित बनेको थियो ।
गत फागुन १५ गतेबाट जारी प्रतियोगितामा ३ ए डिभिजन क्लब र ४ विदेशी टिम सहित १० क्लबको सहभागीता रहेको थियो । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको हालसम्म झापा-११ ले २ संस्करण जितेको छ । थ्रीस्टार, त्रिभुवन आर्मी र क्यामरुनी क्लब दाफिन्सले १-१ संस्करणको उपाधि आफनो पक्षमा पारेका थिए ।