दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् ।

प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न लागेको छैन ।

बिहीबार प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा बिदाको दिन पारेर २२ मार्च अर्थात् आइतबारको लागि जनता कर्फ्यूको घोषणा गरेका थिए ।

के-के बन्द छन् भारतमा ?

जनता कर्फयूका कारण यतिबेला दिल्ली मेट्रो, सयौं रेलगाडीहरु, दिल्लीको थोक बजार, कर्नाट प्लेस र सबैजसो भोजन गृहहरु यतिबेला बन्द छन् । त्यस्तै, सुपरमार्केटहरु, मेट्रो फिडर सेवा, पेट्रोल पम्पहरू, पर्यटक ट्याक्सी पनि आइतबार पूर्ण रुपमा बन्द गरिएको छ ।

सरकारले अत्यावश्यक भनेर तोकेका सेवाबाहेक अरु सबै सेवाहरु स्वतस्फूर्त बन्द गरिएको छ । अर्कोतर्फ, यो कर्फ्यूका बाबजुद पनि दूध पसल, किराना पसल, सीएनजी स्टेशन, अस्पताल, नर्सिङ होम, प्रहरी सेवा र सञ्चार सेवाहरु खुला छन् ।

जनता भयभीत

धेरै व्यक्तिहरू सार्वजनिक कर्फ्यूदेखि भयभीत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, प्रहरीले यसमा डराउनु पर्ने कुनै कारण नभएको बताएको छ । दिल्ली प्रहरीका अनुसार यदि कर्फ्यूको दिनमा यदि कुनै व्यक्ति बाहिर घुम्न निस्किएको खण्डमा पनि ऊ विरुद्ध कुनै कारबाही नगरिने स्पष्ट पारेको छ ।

सार्वजनिक रुपमा नै प्रहरीले भनिरहेको छ कि उनीहरू घरमा बस्न आग्रह गरिएको हो । तर, काम विशेषले बाहिर जानेहरुलाई पनि कुनै कारबाही गरिने छैन ।

प्रहरीका अनुसार चिकित्सा सम्बन्धी आपतकालीन अवस्थामा, घर नजिकै दूध वा पानीको लागि वा अरु अत्यावश्यक सामान किन्नको लागि पनि घरबाट बाहिर निस्कन सकिने प्रहरीले स्पष्ट पारेको छ ।