धरान  : एक नम्बर प्रदेशका लागि शुक्रवार देखि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण सुरु हुने भएको छ ।

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताका अनुसार काठमाडौँबाट बुधवार कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट पठाई सकेको र बिहीबार धरान आइपुग्ने भएकोले शुक्रवार देखि एक नम्बर प्रदेशका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोनाको परीक्षण सुरु हुनेछ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले पनि प्रतिष्ठानमा परीक्षणका लागि प्रयोगशाला तयारी भइसकेको जानकारी दिएका थिए । परीक्षणका लागि किट आईनपुगेकाले मात्रै कोरोनाको परीक्षण हुन नसकेको बताएका थिए । अव सरकारी निर्णय अनुसार धरानमै कोरोनाको परीक्षण हुने भएको हो ।

यसै गरी प्रदेश सरकारले एक नम्बर प्रदेशमा १ सय ७४ बेडको आईसोलेसन तयार पारी सकेको पनि एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताले बताएका छन् । उनका अनुसार कोरोना विशेष अस्पताल विराटनगरको नेशनल ट्रेडिङ कम्पनीको हाता भित्र १० वटा आईसियु सहितको ५० बेडको अस्पताल निर्माण अन्तिम अवस्थामा पुगेको छ ।

कोरोना विशेष अस्पताल ५ दिन भित्रमा सञ्चालनमा आइसक्ने पनि डा. मेहताले बताएका छन् । उनका अनुसार एक नम्बर प्रदेशका सबै नगरपालिकाहरुले २ हजार ४ सय ८ वटा आईसोलेसन निर्माण गरेका छन् ।
एक नम्बर प्रदेशमा मात्रै केही दिनको अवधिमा १९ वटा कोरोना आशङ्काका केशको स्याम्पल काठमाडौँमा परीक्षणको लागि पठाईएकोे पनि महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिएका छन् ।