धरान : नेपालमा आज शनिबार फेरी अर्काे कोरोना संक्रमित भेटिएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी एक युवतीमा कोरोना देखिएको हो ।

युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको बताईएको छ । नेपालमा यसअघि विदेशबाट आएका ४ जनामा कोरोना देखि सकिएको छ । कोरोना संक्रमित मध्ये एक जना निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अव यो संगै नेपालमा पाचौ संक्रमित फेला परेको हो ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

त्यसक्रममा बाग्लुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ ।