धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आईतबारबाट  कोरोनाको परिक्षण सुरु हुने भएको छ ।

एक नम्वर प्रदेशमा कोरोनाको आशंका गरिएका विरामीहरुको थ्रोट स्वाब परिक्षण गर्नका लागि प्रतिष्ठानको एम्वुलेन्स मार्फत काठमाण्डौको टेकु अस्पतालमा पठाईदै आएकोमा अव देखि धरानमै थ्रोट स्वाबको परिक्षण हुने भएको छ ।

यहाबाट काठमाण्डौ पठाउदा धेरै समय लाग्ने र रिपोर्ट आउन पनि केही दिन कुर्नुपर्ने भएकोले अव यहीबाट परिक्षण हुदा रिपोर्ट चाडै आउने बताईएको छ ।
नेपाल सरकारले प्रदेश १ को बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँके स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना भाईरसको परिक्षण हुने घोषणा गरेको थियो ।

सोही घोषणा अनुसार एक नम्वर प्रदेशको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि कोरोना भाईरसको परिक्षण गरिने भएको हो । कोरोना भाईरसको परिक्षण गर्ने ल्यावको उदघाटन एक नम्वर प्रदेशका मुख्यमन्त्री सेरधन राईले गर्ने बताईएको छ ।

सिमित मानिसको उपस्थितिमा मुुख्यमन्त्री राईले ल्याबको उदघाटन गर्ने कार्यक्रम तय भएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले बताए ।

प्रतिष्ठानको हेल्प डेक्समा ७७ जना सम्पर्कमा आए

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना भाईरस हेल्प डेक्समा शनिबार सम्ममा ७७ जना कोरोना आशंकामा आफ्नो स्वास्थ्य परिक्षण गर्न आईपुगेका छन् ।

परिक्षणमा आएका मध्ये प्रतिष्ठानबाट मात्रै १९ जनाको थ्रोट स्वाबको नमुना टेकु अस्पताल पठाईएकोमा अहिले सम्म १६ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

तीन जनाको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए । अहिले सम्म बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा भर्ना भएका कोरोना आशंका गरिएका ५ जनाको शनिबारनै डिस्चार्ज गरिएको छ ।

केही दिन अघि आईसोलेसन वार्डमा राखिएका चिनियाँ नागरिकको पनि शनिबार नै डिस्चार्ज भएको छ । अहिले आईसोलेसनमा ३ जना रहेका छन् ।

प्रतिष्ठानमा आशंका गरी आएका मध्ये ५ जनालाई धरान १३ को शैनिक आवासिय विद्यालयको क्वारेन्टाईनमा रेफर गरिएको छ भने ४ जनालाई मोरङमा नेपाली सेनाले तयार गरेको क्वारेनटाईनमा रेफर गरिएको छ ।  बाँकीलाई सेल्फ होम क्वारेनटाईनमा बस्न अनुराेध  गरिएको प्रतिष्ठानले जनाएको छ ।