पथरी : कोरोनाको कारण अहिले लकडाउन नभएको भए मोरङ पथरीशनिश्चरे ३ बस्ने पूर्णमाया पोख्रेलको खोरमा रहेका कुखुरा बजार पुगी सकेको हुन्थे । तर लकडाउनले उनको कुखुराको बिक्री नै बन्द गर्दियो । त्यसैले अहिले उनका कुखुरा खोर मै छन् ।

‘६० दिनका कुखुरा भइसक्यो न अब त कुखुरालाई खुवाउने दाना छ, दाना पनि सक्किदैछ’ पोख्रेलले भनिन् ‘लकडाउनले हामी किसानको व्यवसाय नै चौपट बनायो ।'

सामान्यता ४५ देखी ६० दिनमा बेची सक्ने ब्रोइलर कुखुरा लकडाउनकै कारण बिक्री गर्न नसक्दा कुखुरा पालक किसान समस्यामा परेका हुन् । अरू वेला ४५ दिन देखि नै कुखुरा लिन व्यापारी आउँथे तर अहिले कुखुरा विक्री नै हुन छोडेको छ । कोरोनाको सङ्क्रमण भित्रने भन्दै सरकारले लकडाउन गरे सँगै बजारमा मासु विक्री हुन छोडेको छ ।

कुखुरा पालन गर्दै आएका पथरी शनिश्चरे ५ कै भीम प्रसाद गिरीलाई पनि पालेका ७ सय कुखुरालाई के गरौँ भन्ने भएको छ । कुखुरा पालेको ६२ दिन बितिसक्दा ७ सय कुखुरा खोरमा नै छन् ।

दैनिक २ बोरा (१ सय केजी) चारो खपत हुने गरेको छ । त्यो पनि ७ सय कुखुरालाई सास अड्याउन मात्रै पुग्ने गिरीको भनाइ छ ।

‘बेचेर नाफा गोजीमा राख्ने बेलामा ६५ रुपैयाँ केजीको चारो खुवाएर कुखुरा पाल्दा घाटा सुरु भएको छ’ गिरीले भने ‘कुखुराको समय बढ्न थाले पछि कुखुराको तौल पनि घट्छ भने मृत्युदर पनि बढ्छ।'

कुखुराको राम्रै कमाइ होला भन्ने सोचले पाल्ने किसानहरूलाई अहिले यही व्यवसाय निल्नु न ओकल्नु भएको छ । अगाडी कुखुरा ह्याचरीकै सिन्डिकेटले चल्ला पाउनै रहेका किसानहरूलाई अहिले बेच्न र दाना खुवाउन नै समस्या पर्दै गएको छ ।

कुखुरा मर्न सुरु भएको भन्दै गिरीले भने ‘मरेका कुखुराको व्यवस्थापन गर्न सकिएन भने थप स्वास्थ्य समस्या आउन सक्छ ।'

यति बेला स्थानीय सरकारले खाद्यान्न र सागसब्जीलाई अत्यावश्यक भनेको छ, माछा मासु पनि उतिकै आवश्यक वस्तुको श्रेणीमा राखेर विक्री गर्न खुल्ला गर्नु पर्ने माग गरेका छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहिने मासुलाई बजार खुल्ला गर्नुको सट्टा बन्द गरेर कृषक र स्वास्थ्यमा खेलबाड गरेको गिरीले आरोप लगाए ।

पथरीशनिश्चरे ५ कै चिरञ्जीवी बन्जरासंग पनि ५ सय कुखुरा रहेका छन् । बजार नपाएपछि कसरी बेच्ने भन्ने उस्तै तनाव बन्जारालाई रहेको छ । व्यावसायिक रूपमा कुखुरा पाल्ने योजनामा रहेका बन्जरालाई तिनै ५ सय कुखुरा सल्टाउन गाह्रो भएको छ ।

दानाको अभाव सँगै समय पुगेका कुखुरा विक्री नहुँदा थप समस्या भएको छ । लाखौँ लगानी गरेर सुरु गरेको व्यवसायले थप चिन्ता थपेको बन्जरा बताउँछन् । आर्थिक समस्या हल गरौला भनेर सुरु गरिएको व्यवसाय गर्दा लिएको ऋण कसरी तिर्न भन्ने चिन्ता कुखुरा किसानलाई थपिएको छ ।