धरान : नगर प्रहरी भर्नाको क्रममा धरान उपमहानगरपालिकाले असई पदमा प्लस टु उर्तीर्ण गरेको शैक्षिक योग्यता मागेको थियो । तर, प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदमा भने कक्षा ८ मात्र उर्तीर्ण गरेका एक व्यक्तिलाई उपमहानगरले भर्ना गर्न खोजेको पाइएको छ ।

प्रहरी निरीक्षक पदमा प्रयोगात्मक शारीरिक परीक्षा उतीर्ण भएर अन्र्तवार्तासमेत लिइसकेपछि मात्र ती व्यक्तिले एसएलसी पनि पास नगरेको खुल्यो । नतिजा प्रकाशनको तयारीको बेला मात्र शैक्षिक योग्यतना नपुगेको थाह पाएपछि कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले प्रहरी निरीक्षक पदको नतिजा प्रकाशन स्थगन गर्न निर्देशन दिएकी थिइन् । असई र नगर प्रहरी जवानको नतिजा प्रकाशन भई सबैले नियुक्ती पत्रसमेत लिइसकेका छन् । तर, प्रहरी निरीक्षक पदको नतिजा भने स्थगन गरिएको सुचना उपहानगरपालिकाले निकालेको छ ।

सामान्यतः नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा जागिर खान स्नातक तह उतीर्ण गरेको शैक्षिक योग्यता चाहिन्छ भने असईमा प्लस टु पास गरेको हुनुपर्छ । सोही मापदण्ड अनुसार नगर प्रहरीको लागि धरान उपमहानगरले असई पदमा प्ल टु पासको शैक्षिक योग्यता मागेको थियो । तर, प्रहरी निरीक्षक पदमा भने कक्षा ८ को मात्र योग्यता भएका व्यक्तिलाई नियुक्ती दिन चलखेल गरिएको पाइएको हो । प्रहरी निरीक्षक पदमा एक मात्र उम्मेदवार सशस्त्र प्रहरीबाट अवकाश प्राप्त सई सनम राई थिए । उनको शैक्षिक योग्यता भने ८ कक्षा पास मात्र रहेको छ ।

उपमहानगरपालिकाले उनको शैक्षिक योग्यताबारे फारम भर्न आउदा नै नहरेको कारण नगर प्रहरी भर्ना मिलेमतोमा भएको हो कि भन्ने आशंकासमेत उब्जाएको छ । नतिजा प्रकाशन हुनुपुर्व कार्यवाहक प्रमुख भण्डारीले शैक्षिक योग्यताबारे जाँच नगरेको भए यतिबेला राईले पनि नियुक्तीपत्र लिइसकेको हुन्थे । यद्यपी, कार्यवाहक प्रमुख भण्डारीले प्रशासनिक प्रक्रियामात्र त्रुटी भएको कारण प्रहरी निरीक्षकको नतिजा स्थगित गरेको बताइन् । ‘प्रशासनिक प्रक्रियामा कमजोरी देखियो, त्यसैले मैले थाह पाउने बित्तिकै नतिजा प्रकाशन स्थगित भएको हो,’उनले भनिन् ।

कार्यवाहक प्रमुखले प्रशासनिक कमजोरी भनेपनि प्रहरी निरीक्षक पदमा शैक्षिक योग्यताको प्रमाणपत्र पेश नभएको कारण नतिजा प्रकाशन स्थगित गरिएको हो । स्रोतका अनुसार उपमहानगरका प्रशासनको उच्च कर्मचारीको मिलेमतोमा राईलाई भर्ना गराउने चलखेल शुरुवातदेखि नै भएको थियो । ‘असईलाई शैक्षिक योग्यता चाहिने, इन्स्पेक्टरलाई चै नचाहिने पनि हुन्छ ? यो मिलेमतोमा नभई के हो ? ’स्रोतले भन्यो,‘शुरुमा शैक्षिक योग्यता छ, छैन भनेर नहेर्ने अन्तिममा आएर नतिजा रोक्ने ?’ योग्यता विनाका व्यक्ति नियुक्ती गर्न उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाको मुख्य चलखेल भएको चर्चा छ । तर, उनी भने प्रहरी निरीक्षक पदमा योग्यता पुरा भएका व्यक्ति नै शारीरिक परीक्षण र अन्र्तवार्तामा सहभागी गराएको दाबी गर्छन् । ‘योग्यता पुगेको भएर नै फिजिकल र अन्र्तवार्ताको परीक्षामा सहभागी भयो, नत्र कसरी पाउथे ?’,उनले प्रतिक्रिया दिदै भने,‘इन्स्पेक्टरमा शैक्षिक योग्यता नै मागिएको छैन ।’ धरान उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक पदमा एक जना, प्रहरी सहायक निरीक्षक(असई) पदमा २ जना र नगर प्रहरी जवान पदमा १८ जनाको दरखास्त आह्वान गरेको थियो । ती मध्ये असई र जवान पदको नतिजा प्रकाशन भई सबैले नियुक्ती पत्र पनि लिइसकेका छन् ।