धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई दिनदेखि साइन्टिफिक प्रोग्राम भइरहेको छ । प्रतिष्ठानको रजत जयन्तीको अवसरमा आयोजित यो कार्यक्रमको शुक्रबार एक समारोहबीच स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रप्रसाद यादवले उद्घाटन गरेका थिए ।
तीन दिने कार्यक्रमको औैपचारिक उद्घाटन शुक्रबार गरिए पनि कार्यक्रम भने बिहिबारदेखि नै शुरुवात भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राज्यमन्त्री यादवले प्रतिष्ठानको सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । यो कार्यक्रम हरेक बर्ष प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजना हुने गर्छ । प्रतिष्ठानका विभिन्न विभागका चिकित्सकहरुले आफ्नो क्षेत्र तथा बिषयमा गरेका खोजअनुसन्धान(रिसर्च)हरु कार्यक्रममा प्रस्तुत गर्छन् । प्रतिष्ठानका प्रवक्ता एवं कार्यक्रम संयोजक डा.पशुपति चौधरीका अनुसार २ सय ७० को संख्यामा रिसर्च पेपर(अनुसन्धान पत्र)हरु प्रस्तुत भइरहेको छ । ‘१ सय ५० वटा रिसर्चहरु मौखिकरुपमा कार्यक्रममा प्रस्तुत गरिन्छन्, र त्यसमा व्यापक अन्र्तक्रिया हुन्छ,’हाडजोर्नी विभाग प्रमुखसमेत रहेका चौधरीले भने,‘बाँकी रिचर्स पोष्टर प्रेजेन्टेशन भइरहेको छ ।’
बीपी प्रतिष्ठान नेपालमै सबैभन्दा बढी अनुसन्धान हुने थलो पनि हो । उपचार सेवा, चिकित्सा शिक्षासँगै प्रतिष्ठानको मिशन रिसर्च गर्नुपनि हो । चिकित्सा विज्ञान तथा सेवालाई समय सापेक्ष बनाउन, नयाँ विधि र प्रविधिबाट समस्याहरुको निराकरण गर्न रिचर्स अति आवश्यक हुने चिकित्सकहरु बताउँछन् । ‘रिसर्च नभएको भए डाइरिया, हैजा, टिबि जस्ता रोगहरुबाट १० बर्षअघि जस्तो भयावह अवस्था थियो, अहिले पनि त्यस्तै हुन्थ्यो,’डा.चौधरी भन्छन्,‘रिसर्चकै कारण सरुवा रोगहरुको उपचार विधि पनि पत्ता लाग्यो, अहिले नयाँ खालका रोगहरु देखापरेका छन्, र त्यसको निधानको लागि पनि उपचार सँगै रिसर्चहरु जारी छ ।’
रिसर्च नगर्दा नयाँ कुरा पत्ता नलाग्ने र भविष्यमा कसरी उपचार गर्ने भनेर प्रभावकारी बनाउन नसकिने चिकित्सकहरु बताउँछन् । गोष्ठीमा रिसर्चबाट नयाँ कुरा पत्ता लागेको बिषयमा व्यापक छलफल, अन्र्तक्रिया हुने भएकोले चिकित्सा विज्ञानको क्षेत्रमा धेरै फाइदा पुग्ने सहप्रवक्ता डा.अशोक ऐर बताउँछन् । ‘किताबमा पहिलाको कुरा संयोजन गरिएको हुन्छ, रिसर्चले अहिले के छ, कुन रोगको अवस्था कस्तो छ, उपचार विधि के हुनसक्छ भनेर देखाउछ,’उनले भने,‘रिसर्चमा हामी नेपालकै अब्बल छांै ।’ कार्यक्रम आज समापन हुदैछ ।

तस्बिर: पोष्टर प्रेजेन्टेशन गरिएको रिसर्च ।

aIMG_20180907_104513 cover 1 IMG_3284