धरान : गत बैशाख २३ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एनआइसि एसिया बैंकको खाताबाट चेक मार्फत ५ लाख ५० हजार भुक्तानी दिइयो । उक्त चेक मोरङको इन्द्रपुरस्थित शाखाबाट साटिएको थियो ।
केही महिनापछि मात्र उक्त चेक बीपी प्रतिष्ठानसँग कुनै कारोबार नभएको पर्वत जिल्लाका जीवन पौडेलको नाममा साटिएको रहस्य खुल्यो । पौडेललाई किन भुक्तानी दिइयो भन्ने खर्चको भौचर वा टिप्पणी केही पनि भेटिएन ।बैंकले प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र तत्कालीन आर्थिक महाशाखा प्रमुख एवं मेनेजर रुपा सिंघाची अग्रवालको हस्ताक्षर भएको चेकबाट भुक्तानी दिएको थियो । रजिष्ट्रारलाई ५ लाखभन्दा माथिको भुक्तानी दिने अधिकार थिएन । त्यसैले यो घटनामा दुवै विवादमा तानिएका थिए । यद्यपी, दुवैले चेकमा भएको हस्ताक्षर आफ्नो नभएको दाबी गर्दै आएका छन् । 
चेक मार्फत जसरी पौडेललाई दिइएको भुक्तानी रहस्यमय बनेको थियो, ठिक त्यसैगरी अहिले रहस्मय तरिकाले ५ लाख ५० हजार रकम बैंकको खातामा जम्मा भएको छ । उक्त रकम कस्ले प्रतिष्ठानको खातामा जम्मा गरेको भन्ने खुलेको छैन । ‘प्रतिष्ठानको खातामा ५ लाख ५० हजार जम्मा भएको छ, कुन स्रोतबाट पैसा आयो भन्ने खुलेको छैन,’प्रतिष्ठानस्थित उच्च स्रोतले भन्यो ।

a 2
रजिष्ट्रार श्रेष्ठले भने पैसा दाखिला गर्न आफुले बैंकलाई पत्र पठाएको खुलाउदै पैसा जम्मा भए नभएकोबारेमा थाह नभएको बताए । ‘त्यो चेकमा हामीले साइन गरेकै होइनौं । पैसा दाखिला गर भनेर बैंकलाई चिठी लेखेको थिएँ,’रजिष्ट्रार श्रेष्ठले भने,‘के भयो बुझेको छैन ।’ उपकुलपति डा. रौनियारले प्रतिष्ठानको खातामा ५ लाख ५० हजार आएको पुष्टि गरे । उनले भने,‘मैले पनि खातामा पैसा आयो भन्ने सुने, त्यसबारेमा बुझ्दैछुँ ।’