धरान: प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका र अंगभंग, घाइते भएका वीर योद्धाहरुको स्मृतिमा धरानका भूपू ब्रिटिश गोर्खा लाहुरेहरुले रक्तदान कार्यक्रम गरी पप्पी डे अर्थात पुर्खा स्मृति दिवस मनाएका छन् ।
ब्रिटिश गोर्खा भूपू सैनिक एकता समाजको आयोजनामा आइतबार धरान १० स्थित सैनिक भवनमा रक्तदान कार्यक्रम गरि पुर्खा स्मृति दिवस मनाइएको हो । नोभेम्बर ११ लाई विश्वभर 'पप्पी डे'कोरुपमा पनि मनाउने गरिन्छ । धरानमा भने भूपू ब्रिटिश सैनिकहरुले केही बर्षयता 'पप्पी डे'लाई पुर्खा स्मृति दिवसकोरुपमा मनाउदै आएका छन् ।
रक्तदान कार्यक्रमका संयोजक एवं पुर्व ब्रिटिश लाहुरे रमेश राईका अनुसार विश्वयुद्धमा घाइते तथा अपांग बनेकाहरु रगत नपाएर धेरैको ज्यान गएकोले तिनै पुर्खाहरुको स्मृतिमा रक्तदान कार्यक्रम गरिएको हो । ‘हाम्रा धेरै पुर्खाहरु लडाईको मैदानमा रगत नपाएर मरे, ती पुर्खाहरुको आत्मालाई शान्ति मिलोस भनेर रक्तदान कार्यक्रम ग¥यौं,’उनले भने,‘पुर्खाहरुको स्मृति र सम्मान पनि हो ।’ यसैगरी, आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गोर्खा सिमेन्ट्री(चिहान)मा पुगेर भुपु गोर्खा एवं परिवारजनहरुले मौनधारण तथा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए । यहाँ ब्रिटिश सेनामा कार्यरत रहदा विभिन्न ठाउँमा ज्यान गुमाएकाहरुको शव राखिएको छ ।
के हो पप्पी डे अर्थात पुर्खा स्मृति दिवस ?
विश्वभर ११ नोभेम्बर(११ महिना)लाई पप्पी डे भनेर मनाइन्छ । पप्पी खासमा एक प्रकारको फुल हो । युरोपमा वीर पुर्खाहरुको सम्मानमा नोभेम्बर महिनाभरी नै छातीमा पप्पी फुल सिउरिने चलन छ । पुर्व गोर्खा सैनिक राईका अनुसार पहिलो बिश्वयुद्ध चलिरहदा फ्रान्स र बेल्जियमको सिमा क्षेत्रमा भिषण युद्ध चलिरहेको थियो । उक्त युद्धमा ठुलो धनजनको क्षति भयो । विध्वंस, लाश र रगतको खोलो बग्यो । ठिक त्यसैबेला त्यस ठाउँमा पप्पी फुल फुलेको थियो, जुन फुललाई हावाले हल्लाउदा छत्रे टोपी लगाएको सैनिकले दाँया बाँया परेड खेलेको झै देखिएको थियो ।
यो दृष्य देखेका एक कविले भावुक हुदै मार्मिक कविता पनि लेखेका थिए । त्यसबेला पहिलो युद्ध विराम सन् १९१८ नोभेम्बर(११) ११ तारिखको ११ बजे घोषणा भएको थियो । यस्तै, विश्वयुद्धमा घाइते, अपांग भएका सैनिकहरुको उपचार, सहयोगको लागि सन् १९२१ नोभेम्बर(११) ११ तारिखको ११ बजेदेखि सबैले पप्पी फुल लगाएर पप्पी डे मनाउन शुरुवात भएको थियो । ‘त्यसबेला पप्पी फुल किनेर लगाउने, त्यो पैसा वहृत कोषमा जम्मा गर्ने चलन विश्वव्यापी शुरु भएको हो,’ब्रिटिश गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष गजेन्द्र इस्पोले भने,'नेपालमा हामीले २०६५ सालदेखि पप्पी डे मनाउन थाल्यौ, अहिले पुर्खा स्मृति दिवसकोरुपमा मनाउदैछौं ।'