बिराटनगर: प्रदेश न. १ नम्बरको पहाडी जिल्ला भोजपुर र धनकुटामा करिब ७ हजार ९ सय भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ ।

दुवै जिल्लामा प्रहरी टोली खटिएर गाँजाको बोट फडानी गरिएको १ नं प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरी टोलीले भोजपुर आमचोक गाउँपालिका ७ पटुकेमा स्थानीयको जग्गामा भएको गाँजा फडानी गरी नष्ट गरेको हो । प्रहरीका अनुसार स्थानीय चुडामणी रिजाल, बिशाल श्रेष्ठ, सिलाङे कान्छा श्रेष्ठ, कान्छा राई र मानबहादुर राईको जग्गामा भएको गाँजा नष्ट गरेको हो । उनीहरुको जग्गामा प्राकृतिक रुपमा नै गाँजा उम्रिएको बताइएको छ । प्रहरीका अनुसार त्यहाँका करिब १ हजार १ सय ७० बोट अबैध लागूऔषध गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो ।

यस्तै, भोजपुर हतुवागढी गाउँपालिका ४, ५, ६ र ९ नम्बरमा पनि ठुलो संख्यामा गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । स्थानीय जसबहादुर राई, मानबहादुर राई, नेपालमान राई, फुल कुमारी राईको जग्गामा अवैध रुपमा खेती गरिएको र माङटुङवा खकुवा खोलाको जंगलमा लगाईएको करिब १३ सय बोट गाँजा प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरवाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी चानुवाबाट खटिएको प्रहरी टोलीले धनकुटा शहिदभूमि गाउँपालिका ७ गैरीगाँउ, च्यामच्याम गाँउको भीर पाखामा, बिच जंगल, बारी लगायत महालक्ष्मी नगरपालिका ४ नाम्फुको भीर पाखामा उम्रिएका अन्दाजी ५ हजार ५ सय भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।