धरान: गोरु काटेको आरोपमा प्रहरीले धरानबाट १० जना पक्राउ गरेको बिषयमा साँस्कृतिक अधिकार संरक्षण समिति सुनसरीले विरोध जनाउदै विना सर्त रिहाई गर्न माग गरेको छ । समितिले शनिबार एक विज्ञप्ती जारी गर्दै विनासर्त रिहाई नगर्ने संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।
समितिका संयोजक सुवास हुक्पा चोङवाङले विज्ञप्ती जारी गर्दै नेपालको संविधानको भाग १(४) मा व्यवस्था भएको ‘धर्म निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्य’ को भावनाविरुद्ध हुनेगरी प्रहरीले गैरकानुनीरुपमा प्रक्राउ गरेको दाबी गर्दै आपत्ति जनाइएको छ । संविधानअनुसार देश ‘लोकतान्त्रिक गणतन्त्रात्मक’ मुलुक भए पनि प्रहरी प्रशासनले संविधानको भावना विपरित हुनेगरी गोरु काटेको विषय मुद्दा बनाइनु भत्र्सना योग्य विषय बनेको पनि विज्ञप्तीमा उल्लेख छ ।

'नेपालको संविधानको मूल मर्म र भावना विपरित भएकोले प्रहरी प्रशासनको उक्त कार्य स्वतः गैरकानुनी भएको ठहर गरेका छौं,' विज्ञप्तीमा भनिएको छ,' नेपालको संविधान भाग १ (१) को (१) मा गरिएको व्यवस्था ‘यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ’ भन्ने स्पष्ट हुँदाहुँदै पनि मुलुकी ऐनको बुँदालाई आधार बनाएर प्रहरीले गरेको दमनप्रति घोर विरोध गर्दछौं ।'
विज्ञप्तीमा प्रहरीको उक्त कार्य तुरुन्त सच्च्याउन साथै पक्राउ परेका १० (दस) जनालाई निःशर्त रिहाइ गर्न पनि समितिले अनुरोध गरेको छ । समितिको विनम्र अनुरोधलाई कमजोरी नठान्न आग्रह गर्दै विज्ञप्तीमा पक्राउ परेकाहरुलाई बिनाशर्त तत्काल रिहाइ नगरिए थप सङ्घर्षका कार्यक्रमहरु घोषणा गर्ने पनि चेतावनी दिइएको छ ।