धरान: धरानमा ‘प्रथम छात्र तथा छात्रा विद्यालय स्तरीय बास्केटबल च्याम्पियनसिप–२०७५’ आगामी माघ पहिलो साता हुने भएको छ ।
पूर्व जुनियर पायोनियर विद्यार्थी संगठनको आयोजना तथा धरान बास्केटबल संघ र जिल्ला बास्केटबल संघ सुनसरीको सहयोगमा माघ ३ गतेदेखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । धरान–१९ स्थित हरियाली सामुदायिक वनको बास्केटबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा धरानभरीका विभिन्न सामुदायिक तथा निजी विद्यालयका २८ टिमलाई सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा संयोजक चिरञ्जिवी गिरीले बताए । उनका अनुसार छात्र–छात्राको १४/१४ को सहभागी रहनेछ ।
प्रतियोगिता कक्षा १० सम्मका विद्यार्थीले मात्र सहभागी हुन पाउने छन् । प्रतियोगितामा भाग लिन दर्ता शुल्क २ हजार रुपैयाँ लाग्ने छ । संगठनले पहिलो पटक विद्यार्थीहरुलाई लक्षित गरी प्रतियोगिताको आयोजना गर्न लागेको हो । पहिलो प्रतियोगितामा प्रथम र दोस्रो हुने छात्र र छात्राको टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गिरीले बताए । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडि, राइजिङ प्लेयरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । विजेतालाई नगद पुरस्कार राशी भने नराखिएको उनले बताए ।
प्रतियोगिताको लागि देश, विदेशमा रहेका जुनियर पायोनियर स्कुलका पूर्व विद्यार्थीसंग आर्थिक संकलन भइरहेको उनले बताए । ‘विद्यालय स्तरबाट बास्केटवल खेलको विकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको हो,’संयोजक गिरीले भने,‘अहिले प्रतियोगिता गराउनलाई नै खर्च जुटाउन गाह्रो छ, नगद पुरस्कार भन्दा पनि विद्यार्थीहरुमा बास्केटबल खेलको विकास होस् भन्ने हो ।’





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































