धरान: भेडेटार फुड फेस्टिवलमा यसपटक हेलि टुर बिशेष आकर्षण रहेको छ । उद्घाटनको दिन मात्र ४ फ्लाइट भएको हेलिकप्टर टुर आज दोस्रो दिनमा भने पर्यटकहरुको घुइचो लागेको छ ।
दिउँसो २ बजेसम्ममा आजै १२ फ्लाइट हेलि टुर भइसकेको थियो । फ्लाइट अझै पनि भइरहेकै छ । एक पटक फ्लाइटमा ६ जना पर्यटकहरु उड्छन् । एक जनाले ४ हजार ९ सय रुपैया मात्र शुल्क तिर्छन् । भेडेटार होलट एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार ३ दिनमा ३० फ्लाइट गर्ने लक्ष्य लिइएको छ । अन्तिम दिनसम्ममा एशोसिएशनले लिएको लक्ष्यअनुसार फ्लाइट हुने उनको अपेक्षा छ ।

यस्तै, पुष २० गतेदेखि सिम्रिक एयर आफैले भेडेटारदेखि ताप्लेजुङको पाथीभारासम्म पर्यटकहरुलाई फ्लाइट गराउने प्याकेज पनि शुरुवात गर्ने उनले बताए । ‘अहिले चै हामीले न्यू इयर मनाउने पर्यटकहरुलाई सस्तोमा फ्लाइट गराएका छौ, पुष २० गतेदेखि सिम्रिक एयरले आफै नै भेडेटारदेखि पाथीभारा फ्लाइट गराउने भएको छ,’अध्यक्ष रुम्दालीले भने ।










































































