इटहरी : दुर्घटना न्युनिकरणका लागि बुधबार १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका कार्यालयले ६२ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।
विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीलगायतलाई राखि सचेतनामुलक कार्यक्रम गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए । १ हजार ४ सय ११ जनालाई सचेतनामूलक प्रशिक्षण दिनुका साथै पम्पलेट पनि वितरण गरिएको सो कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मोरङको कटहरी– ४ नयाँ बजारमा पैदल यात्रीहरूलाई भेला गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
यसैगरी, मोरङको सुन्दरहरैंचा–७ गछिया चोकमा सफारी र अटो चालक लाई दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको जनाएको छ ।
कोशी लोकमार्ग अन्तर्गत धनकुटामा विभिन्न सवारी साधनका चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको सो कार्यालयले जनाएको छ ।