बिराटनगर : १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ बर्षीय बालक सहित २ जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो ३ बजेको समयमा मोरङको केरावारी ८ चोक बजारमा उतरबाट दक्षिण तर्फ आउँदै गरेको को २ च १९३५ नम्बरको पिकअपले सोही स्थान बस्ने होम बहादुर भण्डारीको ८ बर्षीय छोरा समिर भण्डारीलाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु गएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

ठक्कर दिने गाडी र गाडी चालक सुन्दरहरैचा नगरपलिका ६ का मनिष श्रेष्ठलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलवारी पठाएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी झापाको मेचीनगर नगरपालिका ७ पालिया पुल छेउमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मंगलवार बेलुका ७ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख ४३९३ नम्बरको तेलको ट्याङ्करले बाटो काट्ने क्रममा भारत घर भई उक्त पुल छेउमा बस्दै आएका ४५ बर्षीय डेनीजोन शर्मालाई ठक्कर दिंदा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।