धरान:आमरण अनसनरत डा.गोविन्द केसीको समर्थन गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले बिहिबार पनि र्याली निकालेका छन् ।

प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेयर सोसाइटीको नेतृत्वमा धरानमा विरोध र्याली निकालेका हुन । प्रतिष्ठानको ओपीडी सेवा बहिस्कार गदै धर्ना दिदै आइरहेको जुनियर चिकित्सकहरुले आकस्मीक सेवालाई समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् । डा.केसीको माग पुरा गर्नुपर्ने भन्दै वीपीका चिकित्सकहरु पनि आन्दोलनमा छन । उनीहरुले ओपिडी बहिष्कार गर्दै रिले अनसन पनि गरिरहेका छन् । आज प्रतिष्ठानको जिओपिडी भवन अघिबाट निस्किएको विरोध र्याली भानुचोक पुगेर पुनः जिओपिडी अघि पुगेर कोणसभामा परिणत भएको थियो । हातमा विभिन्न प्ले कार्ड नलिइ निस्कएका चिकित्सकहरुले सरकारविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए ।

IMG_9786

डा.केसीले अनसन बसेको २३ दिनसम्म आइपुग्दा पनि जायज मागप्रति सरकारले वार्ता नगरेको र ज्यान जोखिममा पारेको भन्दै विरोधमा उत्रिनु परेको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए । सरकारले चाडो माग पुरा नगरे ओपिडी सेवा बहिस्कार मात्र नभै आकस्मिक सेवालाई समेत बहिस्कार गर्ने उनले चेतावनी दिए । ‘हामीले ओपिडी सेवालाई मात्र बहिस्कार गरेर डा.केसीको समर्थनमा छौं,’ डा. पौडेलले भने,‘सरकारले वार्ताको लागि कुनै ठोस कदम चालेन भने आकस्मिक सेवालाई पनि बहिस्कार गर्न सक्छौं ।’ सरकारले डा.केसीको माग पूरा नगरेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । यद्यपी उनले अस्पतालको सेवा नै ठप्प पार्ने पक्षमा भने आफुहरु नभएको तर सरकारले बाध्य पारिरहेको बताए ।

IMG_20190129_104227

सोसाइटीले चरणवद्ध आन्दोलन गर्र्दै आएको छ । शुरुमा हातमा कालोपट्टि बाधेर विरोध जनाएका जेआरहरुले विहान ८ बजेदेखि ११ बजेसम्म अनसन बसेका थिए । माघ ११ गतेदेखि भने आकस्मिक सेवाबाहेक ओपिडी सेवा बहिस्कार गदै आएका छन् । ओपिडी सेवा प्रतिष्ठानका सिनियर चिकित्सकहरुको भरमा चलिरहेको छ । माघ ११ गते सरकारले प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक सांसदबाट पास गराएको थियो भने राष्ट्रिय सभाबाट पनि उक्त विधेयक पारित भइसकेको छ । माथेमा आयोगको विपरीत र आफुसँग सरकारले गरेको सम्झौता विपरीत जर्बजस्ती विधेयक पारित भएपछि डा.केसीले नैतिकरुपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै अनसन जारी राखेका छन् । सरकारले भने विधेयकमा सबै भन्दा धेरै डा.केसीको माग सम्बोधन भएको जिकिर गदै आएको छ ।  डा.केसीको अवस्था नाजुक रहेको चिकित्सकहरु बताउदै आएका छन् ।