धरान: कोशी कोरिडोर २२० केभीए प्रसारण लाइन विस्तार गरिदा धरानको साहसिक खेल पर्यटन प्याराग्लाइडिङको भविष्य अनिश्चित बनिरहदा सिक्न चाहनेहरुको लागि भने प्रदेश नं १ आकर्षणको केन्द्र बन्दै गएको छ ।

गएको कार्तिक अन्तिम सातादेखि नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ एशोसिएशन(नेफा)ले सञ्चालनमा ल्याएको बेसिक कोर्षअन्र्तगत प्रशिक्षण केन्द्रमा नेपालका मात्र होइन, विदेशबाट पनि कोर्ष गर्न आएका छन् । राष्ट्रिय खेलकुद परिषदमा आवद्ध नेफाले सरकारीस्तरमा पहिलो पटक प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको कारण अन्य निजी कम्पनीहरुको प्रशिक्षण केन्द्र भन्दा सस्तो छ । जसले गर्दा नेपालीहरु मात्र होइन, प्याराग्लाइडिङ पाइलट बन्न चाहने विदेशी नागरिक पनि कोर्ष गर्न पुर्व आएका छन् ।

नेफाले उदयपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित वोप्ताङमा आधारभुत प्रशिक्षण(बोसिक कोर्ष) केन्द्र सञ्चालनमा छ भने धरानदेखि उत्तरी मोरङको मिक्लाजुङ डाँडासम्म एडभाञ्स तथा व्यवसायिक टेण्डम पाइलट कोर्षको लागि एयरस्पेश अनुमति छ । बेलकामा बेसिक कोर्ष सञ्चालन गर्न धरानको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले व्यवस्थापन गरिरहेको छ । भर्खरै बेसिक कोर्ष सकेको तेस्रो ब्याचमा एक जना बेलायती नागरिकले पनि प्रशिक्षण लिन आएका थिए । नेफाका प्रशिक्षक सुरेन गुरुङका अनुसार बेलायती नागरिक कास्पर वाइट कोर्ष गर्नकै लागि धरान आएका थिए । ‘उनीसहित ६ जनाले तेस्रो ब्याचको कोर्ष भर्खर सकेका छन्, अब उनीहरु सोलो पाइटल भएका छन्, जहीबाट पनि एक्लै उड्न सक्छन्,’प्रशिक्षक गुरुङले भने ।

casper-white-&-other)

प्रालिका अनुसार बेलायती नागरिकसँगै पोखराका प्रदिप पौडेल र सोलुखुम्बुका सोनाम टासी शेर्पा, लाक्पा छिरिङ शेर्पा, दावा वाङ्चु शेर्पा र छिरिङ शेर्पाले कोर्ष गरेका थिए । नेपालमा यसअघि तनहुको बन्दीपुर र स्याङ्जाको शिरकोटमा मात्र प्रशिक्ष्ण केन्द्र थियो । तर, ती केन्द्र निजी कम्पनीले सञ्चालन गरेको कारण महंगो छ भने भौगोलिकरुपमा पनि असहज भएकोले प्याराग्लाइडिङ कोर्ष गर्न पुर्वमा आकर्षित छन् । ‘यता सुलभ छ, सुविधा छ र सस्तो पनि छ,’प्रशिक्षक गुरुङले भने,‘कास्परले अरुतिर पनि बुझेछन्, राम्रो यहाँ देखेपछि यतै कोर्ष गर्न आए ।’ बेलकाको प्रशिक्षण केन्द्रबाट उड्न(टेकअफ) र अवतरण गर्न(ल्याण्डिङ) पनि सजिलो भएकोले बेसिक कोर्ष गर्न चाहनेहरुको रोजाईमा परेको हो ।

हालसम्म यहाँबाट तेस्रो ब्याचले प्रशिक्षण गरिसकेका छन् । यो केन्द्रबाट पुर्वेलीहरुलाई त राहत मिलेको छ नै, सरकारीस्तरमा खुलेको प्रशिक्षण केन्द्र भएकोले अन्यभन्दा सस्तो छ । त्यसैले विभिन्न जिल्लाहरुबाट कोर्ष गर्न यता आउने गरेका छन् । अहिलेसम्म पाल्पा, पोखरा, काठमाण्डौलगायत क्षेत्रबाट पनि गरि १६ जनाले कोर्ष गरिसकेको बुढासुब्बा प्रालिका सचिव रामप्रसाद राईले जानकारी दिए । ‘बेसिक कोर्ष बेलकाबाट हुन्छ, एड्भाञ्स कोर्ष धरानबाटै हुन्छ, प्रदेश १ प्याराग्लाइडिङ उडन् मात्र होइन, कोर्ष गर्न पनि नेपालकै हब बन्छ,’उनले भने,‘हामीलाई मात्र कोशी कोरिडर प्रसारणले विस्थापित गर्छ कि भन्ने चिन्ता छ ।’

अन्यत्र अढाई लाख खर्च हुने कोर्ष यता डेढ लाखमा भइरहेको छ । नजिकै बिपी प्रतिष्ठानजस्तो ठुलो अस्पताल, सडक र यातायातको सहज पहुँचले कुनै दुर्घटना भइहाले उद्दार गर्न सहज पनि भएकोले सबैको आँखा पुर्वतिर भएको प्याराग्लाइडिङ पाइलटहरु बताउँछन् । शिरकोट र बन्दीपुरमा उडिरहदा कतै अलमल भए वा समस्या हुदा ल्याण्डिङ गरेको ठाउँबाट उद्दार गर्न २ दिनजति समय लाग्ने पाइलटहरु बताउँछन् । तर, धरान वा बेलकामा यस्तो समस्या छैन । पछिल्लो समय एसियन गेममा नेपाललाई रजत पदक दिलाएको कारणले पनि युवाहरुमा खेलकोरुपमा पनि प्याराग्लाइडिङमा आकर्षण बढेको छ ।