झापा: प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो, झापाको दमक । प्रधानमन्त्री हुनुअघि उनी दमक आउँदा प्रायः आफ्नै घरमा बस्ने गर्दथे । दमक र यहाँको हावापानी अनि यहाँका समस्या र आवश्कयताबारे प्रधानमन्त्री ओली परिचित नै छन् । तर उनले दमकमा अढाई अर्ब भन्दा बढी रुपैयाँ लगाएर भ्यु टावर बनाउने योजना ल्याए । उक्त भ्यु टावर निर्माण हुने लगभग पक्का छ ।

निक्कै महत्वकांक्षी रहेको भ्यु टावरबारे भने प्रधानमन्त्रीकै गृहनगरका सर्वसाधारण नागरिकहरु भने दुई कित्तामा उभिएका छन् । कसैले पर्यटन विकासको लागि भ्यु टावरको आवश्यक भएपनि त्यसभन्दा पनि प्राथमिकता दिनुपर्ने वा पुरा गर्नुपर्ने जनताका आवश्यकताहरु थुप्रै भएकोले त्यसपट्टि पहिला ध्यान दिनुपर्ने सुझाव दिईरहेका छन् । स्थानीय जनताका आधारभूत आवश्यक्ता, विकासका काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकका जनता आग्रह गर्छन् । यहाँका धेरै सर्वसाधारणले पहिला जनताका आधारभूत आवश्यक्ता पूरा गर्ने संरचना निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

दमक चोक वरपर सडक चिल्ला छन् । कालोपत्रे भएको पनि छ । तर त्यो बाहेकका सडक जीर्ण छन् । कतिपय सामुदायिक विद्यालयमा भौतिक संरचना नभएको तथा पढाउने शिक्षकको पनि अभाव छ । दमकमा सुविधा भएको अस्पतालसमेत छैन । त्यसैले प्रधानमन्त्रीको गृहनगरमा स्थानीय नागरिकहरुले भ्यु टावरको आवश्यकता र औचित्य माथि प्रश्न चिन्ह उठाईरहेका छन् ।

दमकमा सुबिधा सम्पन्न अस्पताल छैन । कतिपय स्थानमा खानेपानीको राम्रो व्यवस्था छैन । धेरै गाउँमा अहिले पनि बिजुलीबत्ति पुग्न सकेको छैन । मुख्य चोक तथा मुख्य मार्ग बाहेकका सडक स्तरोन्नति भएका छैनन् । धेरै सार्वजनिक विद्यालय जीर्ण छन् । विद्यालयमा पढाउने शिक्षक छैनन् । कोही विरामी अलि साह्रै भयो भने विर्तामोड कि विराटनगरका महंगा निजी अस्पतालमा पुर्याउनुपर्छ । नागरिकहरु भनिरहेका छन्,'प्रधानमन्त्री ज्यू,यस्तो अवस्थामा पहिला के आवश्यकता हो ?' सरकारलाई प्रश्न गरिरहेका छन् । अस्पताललाई चाहिने जनशक्तिका लागि योजना बनाएर भ्यु टावरको अढाई अर्ब रुपैयाँ अस्पताल निर्माणमा लगाउने हो भने जत्रो पनि अस्पताल बन्ने जानकारहरु बताउँछन् ।

दमक चोकबाट पश्चिम ताराबारीबाट उत्तर जाने नगरको रिङ रोड बषौंदेखि स्तरोन्नतिको पर्खाइमा छ । सोही भएर उत्तर जाँदा बाटोमा सानो पसल गर्ने दमक नगरपालिका ३ दुम्सेका स्थानीयबासी ज्ञानु बुढाथोकीलाई दमकमा बन्ने भनिएको भ्यु टावर भन्दा सोही सडकको स्तरोन्नति महत्वपूर्ण हो भन्ने लागेको छ । उनले भने, ’पहिला त सडक बनाउनु पर्यो नि । कति दिन धुलो खाएर बस्नु ?’

नेपाल विद्युत प्राधिकरण दमक शाखाले गत कात्तिक महिनामा दमक क्षेत्रमा विद्युत आपूर्ति गर्नका लागि १० करोड रुपैयाँ बजेट माग गर्यो । तर अहिलेसम्म जनतालाई विद्युत सेवा दिने उक्त बजेट प्राप्त नभएको बिद्युत प्राधिकरणले जनाएको छ । अहिले पनि दमक १ र १० नं वडाका धेरै स्थानमा विजुली नपुगेको प्राधिकरणका दमक शाखा प्रमुख जितेन्द्र यादव बताउछन् । भ्यु टावरको पैसा विद्युतमा लगाउने हो भने पूर्वी तराईका तीन जिल्लामा भरपूर विजुली पुग्ने संरचना बनाउन सकिने विद्युत प्राधिकरणका कर्मचारीको दावी छ ।

दमक नगरपालिकाको अर्को मुख्य समस्या भनेको खानेपानी पनि हो । नगर क्षेत्र भित्र आधा जनसंख्यामा खानीपानीको व्यवस्था पुगेको छ । दमक बजारको दक्षिण क्षेत्रमा खानेपानीको व्यवस्था पुग्न नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोशन गौतमले बताए । दमक क्षेत्रमा मात्र खानेपानीको व्यवस्था पुर्याउन अझै करिब ३५ करोड रुपैयाँ चाहिन्छ । अहिले तीनवटा टंकीबाट पानीको आपूर्ति हुँदै आएको छ । अढाई अर्ब रुपैयाँले करीब ८ वटा त्यस्ता खानेपानी आयोजना बन्ने अनुमान छ गौतमको ।

यता नगरपालिकाकी उप्रप्रमुख तथा प्रवक्ता गीता अधिकारी भने अब कुनै हालतमा यो भ्यु टावर निर्माण नरोकिने बताउँछिन् । काम सुरु हुनै लागिसकेको उनको दाबी छ । तर प्रधानमन्त्रीसँग साईनो जोडिएको दमकका नागरिकहरु भने सरकारले पहिला बिद्युत पुर्याउन, खानेपानी दिन, बाटो बनाउन माग गरिरहेका छन् । कम्तीमा बिरामी पर्दा सुबिधा सम्पन्न अस्पताल दमकमै उपचार गर्न पाइयोस् भन्ने नगरबासीहरुको माग छ । त्यसपछि, भ्यु टावर बनाउदा हुने उनीहरुको धारणा छ । निक्कै नै महत्वकांक्षी योजना मानिएको भ्यु टावर निर्माणले दमकलाई के फाइदा पुग्छ ? भविष्यले बताउला तर पहिला जनताको आधारभुत आवश्यकता सरकारले, प्रधानमन्त्रीले बुझोस् भन्ने चाहन्छन्, दमकबासी ।