धरान(डेस्क): प्रशोधित पिउने पानी उत्पादन निर्देशिका २०७४ उल्लंघन गर्ने इटहरीका तीन पानी उद्योगको उत्पादनमा प्रतिबन्ध लागेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले बिहिबार अनुगमन गर्दा निर्देशिका वमोजिम पानी उत्पादन भएको नभेटिए पछि ती उद्योगहरुमा सिल गरिएको हो । डिभिजन कार्यालयका प्रमुख बिक्रम लिम्बूका अनुसार निर्देशिका २०७४ मा जारी भएको थियो भने गत बैशाखदेखि अनिवार्य लागु भएको थियो । तर, निर्देशिकालाई सुनसरीका कतिपय उद्योगहरुले अटेर गरेर हेलचेक्रयाईपुर्णतरिकाले पानी उत्पादन गरिरहेको उनले बताए । ‘प्रशाधित पिउने पानी स्वच्छरुपमा उत्पादन गरियोस् भनेर नेपाल सरकारले अघिल्लो बर्ष नै निर्देशिका ल्याएको थियो, ६ महिनासम्म उद्योगहरुलाई सुधार गर्ने समय पनि दिएको हुन्छ,’उनले भने,‘तर, सुनसरीका उद्योगहरु कतिपयले अटेर गरिरहेको रहेछ ।’

बिहिबार ५ वटा उद्योग अनुगमन गरिएकोमा ३ वटाले निर्देशिका अनुसार सुधार नगरेको कारण पानी उत्पादनमा रोक लगाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इटहरी ५ स्थित पारीजात जल उद्योग, इटहरी ८ स्थित एभरेष्ट वाटर इष्डष्ट्रिज र इटहरीको कोशी जल उद्योगलाई उत्पादनमा रोक लगाएको हो । ‘पानी उत्पादन नहोस्, र बजारमा पनि नजाओस् भनेर उत्पादन हुने धाराको टुटी, मेशिनलाई सिल गरेका छौ,’कार्यालय प्रमुख लिम्बूले भने,‘अपग्रेड गर्नुस, निर्देशिकाअनुसार सुधार गरेर लिखित जानकारी दिनुस् अनि मात्र सिल खोल्छौ भनेका छौ ।’
निर्देशिकाले बोतलमा पानी लगाउदा स्वचालित(अटोमेटिक) मेशिन हुनुपर्छ भनेर स्पष्ट किटान गरेको छ । हातले पानी भर्दा संक्रमण हुने र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुन्छ । यस्तै, ५ फिटसम्म टायल हुनुपर्ने, मेशिन स्टिलको हुनुपर्ने, ल्याब हुनुपर्ने, अनुज्ञा पत्र हुनुपर्नेलगायत निर्देशिकामा स्पष्ट व्यवस्था छ । तर, आज सिल गरिएको ३ वटा उद्योगको अनुज्ञापत्र नविकरण पनि नभएको पाइएको थियो ।








































































