धरान: धरानलाई शिक्षा, स्वास्थ्यको क्षेत्रमा मात्र होइन, पर्यटकीय र व्यापारिक हब बनाउनुपर्छ भन्ने मत धेरै छ । धरानेहरुकै लगानीमा आधुनिक बनेको यो सहरको व्यापार व्यावसाय खस्कदै गएको धेरैले चिन्ता गर्ने गर्छन् । त्यसैले अब शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारको हब बनाउनुपर्छ भनेर बसह हुनगर्छ ।

तर, के धरान यी सबैको हब बन्न सक्छ ? धरानको मात्र होइन, प्रदेश १ कै महत्वकांक्षी मानिएको ६ लेनको जोगवनी किमाथांका सडक विस्तार भएर तरहरा आइसक्यो । यो सडक धरानको बीच बजार भएर जाने कि बाइपास गरेर लैजाने ? यसमा विवाद छ । बजार भएर लैजादा अहिले धरानको मुख्य बजार क्षेत्रको अस्तित्व नामेट हुन्छ । त्यसैले बजारबासीहरु यो सडकलाई बाइपास गरेर लैजान लविङ गरिरहेका छन् ।

शुक्रबार धरान ८ स्थित होटल गजुर प्यालेसको उद्घाटन गर्न आएका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले त्यसरी सडक बाइपास गर्दा धरान हब नभएर ट्रान्जिट पोइन्ट मात्र रहनेतर्फ संकेत मात्र गरेनन्, धरानको बजार थप कमजोर हुने टिप्पणी पनि गरे । ‘धरानलाई ट्राञ्टिज पोइन्ट हुनबाट जोगाउनुपर्छ,’मन्त्री कार्कीले भने,‘६ लेन सडक बन्दैछ, बाइपास गर्नुभयो भने धरान बजार अझै कमजोर हुन्छ ।’

किमाथांका ट्रयाक खुलेपछि कायापलट हुने

IMG_0069

मन्त्री कार्कीले चीनसँगको नाका किमाथांकासम्म ट्रयाक जोडिन अब मात्र २१ किलोमिटर बाँकी रहेको भन्दै २ बर्षभित्र ट्रयाक खोलिसक्ने दाबी गरे । त्यसपछि प्रदेश १ को समृद्धिको ढोका पनि खोलिने मन्त्री कार्कीको भनाई थियो । ‘किमाथांकय पारी विकसित सहर छ, अब ट्रयाक पुग्न २१ किलोमिटर मात्र बाँकी छ,’मन्त्री कार्कीले भने,‘२ बर्षपछि ट्रयाक खोलेपछि चीन र भारत जोडिन्छ । त्यहाँबाट आधा प्रतिशत मात्र घुम्न आउने हो भने पनि हामीलाई अरु केही चाहिदैन, पर्यटनलाई मात्र अघि बढाउदा हुन्छ ।’

धरानमा धेरै सम्भावनाहरु छन्

IMG_1441

धरानमा धेरै सम्भावनाहरु भएको चर्चा गर्दै मन्त्री कार्कीले एकीकृतरुपमा विकासको खाकाको प्रस्ताव लिएर प्रदेश सरकारमा आउन धरानका जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । धरानका शिक्षा, खेलकुद, स्वास्थ्य, पर्यटन, कला, सँस्कृति सबै क्षेत्रको उतिकै सम्भावना भएको भन्दै उनले एकीकृत योजना बनाएर धरानलाई गन्तव्यकोरुपमा विकास गर्नुपर्ने धारणा राखेका थए । ‘धरानलाई पोइन्ट हुनबाट जोगाउनुपर्छ, सबै क्षेत्रको एकीकृतरुपमा व्यवस्थित योजना बनाउनुपर्छ, त्यो योजनाको प्रदेश सरकारमा लिएर आउनुस्,’मन्त्री कार्कीले भने,‘हामीले पनि धरानमा खेलकुद र पर्यटनको कार्यालय खोल्नुपर्छ भन्ने सोच बनाएका छौ, यसले गविविधि गर्छ, सम्भावनाहरु धेरै छ ।’