नुवाकोट : सोनाम लोछारको अबसरमा तारकेश्वर स्तरीय कलाकारहरुको छाता संगठन तारकेश्वर कलाकार समाज र दाङसिङको स्थानीय क्लवले नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा १ दाङसिङस्थित जब्बरेचौरमा विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) एवं गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी (अविरल) ले स्थानीय चाडपर्वको संरक्षण र प्रवद्र्धनमा जोड दिए । तारकेश्वरमा धेरै तामाङ जातिको बसोबास रहेको भन्दै उनले संस्कृतिको जर्गेनासँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले आगामी दिनमा पनि यो पर्वलाई अबसरका रुपमा सदुपयोग गर्ने बताए । उनले तारकेश्वरको विकास र उत्थानको लागि सबै पक्षले राजनीतिक भन्दा माथि उठेर लाग्नुपर्ने बताउँदै आफू समुन्नत तारकेश्वर बनाउने अभियानमा लागि परिरहेको पनि बताए । कलाकार भनेको राष्ट्रिय गहना हो भन्दै उनले कलाकारहरुको सम्मान र संरक्षणको लागि सबै पक्षहरु जुट्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांगे्रस तारकेश्वर गाउँपालिकाका संयोजक होम बहादुर तामाङले लोछार पर्वको संरक्षण र प्रवद्र्धनको लागि हामी सबै लागि पर्नु पर्ने बताए । उनले यस पर्वलाई राष्ट्रिय रुप दिनको लागि आफूहरु लागि परिरहेको पनि बताए ।
सो अवसरमा तारकेश्वर गाउँपालिकाका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । हजारौंको जनसहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय कला, संस्कृति सहित झाँकी पनि प्रर्दशन गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष दुर्गा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।