ताप्लेजुङ: बिहेमा आफुले चाहेको जस्तो गीत नबजाएको झोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ सिमल बोटमा गए राति पाहुनामाथि खुकुरी प्रहार भएको छ ।

राती करिब साढे २ बजे भएको घटनामा पाहुना आएका ३ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हुँदा सो घटना भएको हो । सोही स्थानका २२ बर्षका बिश्व सेङदान, १७ बर्षका सरोज सेङदान र १९ बर्षका मिखे तामाङ लगाएतको समुहले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट पाहुना आएका फुङलिङ नगरपालिका ८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमाथि धारिलो हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेको छ । घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह घटना पछि फरार भएका छन् । उनीहरुको खोजी कार्य तीब्ररुपमा भइरहेको प्रहरीले जनाएको छ ।