भद्रपुर : झापा कारागारका कैदीले आन्दोलन गरेपछि कारागारका जेलरको सरुवा भएको छ । जेलर राजु दाहालले ज्यादती गरेको आरोप लगाउँदै कैदिहरुले आन्दोलन गरेका थिए ।
प्रशासनप्रति असन्तुष्ट कैदीबन्दीहरु बुधबार जेलर राजु दाहालले ज्यादती गरेको आरोप लगाउँदै हातमा प्ले कार्ड बोकेर करिब एक घण्टा नाराबाजीमा उत्रिएका थिए । जेलरले आफूहरुमाथि शोषण र अत्याचार गरेको भन्दै उनिहरुले १७ बुँदे मागसमेत राखेका थिए ।

कारागारमा कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तत्काल कारागार पुगेर कैदीबन्दीको माग र गुनासो सुनेका थिए । प्रजिअ दाहालसँग कैदीबन्दीहरुले जेलर दाहाललाई तत्काल सरुवा गर्नुपर्ने माग राखेका थिए ।
जेलर दाहाललाई सोही दिन प्रशासन कार्यालय तानेर उनको स्थानमा गौरीगञ्ज गाउँपालिकाका प्रशासकीय अधिकृत चुडाराज भट्टराईलाई खटाउने प्रजिअ दाहालले बताए ।
कारागारका चौकीदार मोहन धितालका अनुसार जेलर दाहालले कैदीबन्दीसँग विभिन्न वहानामा रकम माग्ने गरेको दाबी गरेका छन्।