झापा : संयोग भनौं या पूर्वयोजना । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम बिष्फोट भएलगत्तै देशका बिभिन्न स्थानमा रहेका एनसेल टावरमा बिष्फोट र आगजनी भयो । ललितपुरमा त एकजनाको ज्यानै समेत गएको छ ।

एकैरातमा यतिधेरै बिष्फोट र आगजनी भएको खबर सुन्ने र देख्नेले यतिबेला पुन १० बर्षे जनयुद्धलाई सम्झन थालेका छन् । ठ्याक्कै त्यसबेलाको सशस्त्र द्वन्द्धकै झल्को दिने किसिमले एनसेलका टावरमा बिष्फोट र आगजनी भईरहेको छ । ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहेक काभ्रे, पोखरा, रौतहट, कञ्चनपुर, बागलुङ, कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बिभिन्न स्थानमा राखिएका एनसेलका टावर अज्ञात समूहको निशानामा परे । यो घटनाले नेपालका सुरक्षा निकायलाई फेरि एक पटक झस्क्याएको छ । त्यसैलेपनि प्रहरीले अहिले तुरुरन्तै एक्सन लिएर अनुसन्धान अघि बढाईसकेको छ ।

हुन त पछिल्ला दिनहरुमा आलोचित बन्दै गएको प्रहरीले यो घटनालाई निक्कै संयममित भएर अनुसन्धान गर्ने बताईसकेको छ । घाईतेको उपचार र मृतकलाई राहत दिने भनेर सरकारले बताईसकेको छ । गृहमन्त्री र प्रहरी प्रमुखनै अस्पताल पुगेर बिरामीको स्वास्थ्यअवस्था बारे जानकारीपनि लिईसकेका छन् ।

किन पर्छ एनसेलले नै निशानामा ?

विगतमा नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाले एनसेलका टावरमा आगजनी र बिष्फोट गराएको थियो । ७२ अर्व कर छलेको, सर्बोच्च अदालतको आदेशको पालना नगरेको, नाफा रकमको केहि अंशपनि नेपालमा खर्च नगरेर त्यो रकम बिदेश पुर्याएको जस्ता आरोप एनसेलमाथि लाग्दै आएको छ । तर यो घटनामा पनि बिप्लबकै कार्यकर्ताको संलग्नता हो या होईन त्यो त प्रहरीले पत्ता लगाउला । तर नागरिकमा भने अर्कै त्रास फैलिएको छ । एनसेलका टावर राखिएका घरका घरधनीहरु कतिबेला के हुन्छ भनेर त्राहीत्राही भएर बसेका छन् ।

अर्थतन्त्रलाई कस्तो असर पुग्छ ?

देशमा चलेको १० बर्षे जनयुद्धका समयमा देशका धेरै भौतिक संरचनामा क्षती पुर्याईएको थियो । जसका कारण मुलुक विकासमा धेरै बर्ष पछि धकेलियो । अझैपनि त्यसबेला ध्वस्त पारिएको संरचनाहरु उठाउन सकिएको छैन् । जुन भौतिक संरचना पुनर्निर्माण गर्न अर्बौ रकम आवश्यक पर्छ । ठ्याक्कै त्यसैबेलाको झल्को दिनेगरि भईरहेको श्रृंखलाबद्ध बिष्फोटले पनि अर्थतन्त्रलाई नकरात्मक असर पुग्न सक्ने अर्थबिदहरुको बिश्लेषण रहेको छ । अर्थ राजनीतिक बिश्लेषक हरि रोका यस्ता भौतिक संरचनामा क्षति पुरयाइदा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर त त्यसै नै पनि पर्ने बताउँछन् । यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पिताम्बर शर्मा यस्ता घटनाले विश्व समुदायमा राम्रो सन्देश नजाने र बिदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न झस्कने वातावरण श्रृजना हुने बताउछन् ।