झापा : अति विपन्न समुदायको आय–आर्जनमा सुधार ल्याउने उद्देश्यले २०५५ सालदेखि सञ्चालित गरिबसंग विश्वेश्वर कार्यक्रमका लक्षित समुदायले बिउँ पूँजी वृद्धिको माग गरेका छन् ।
हल्दिबारी गाउँपालिका संगठित समूहका पदाधिकारीहरुका लागि सञ्चालित ३ दिने नेतृत्व विकास सम्बन्धी तालिम कार्यक्रममा सहभागीहरुले बीउ पूँजी वृद्धिको माग गरेका हुन् ।
पाँच वर्षदेखि समूहमा आवद्ध संगठित समूहका अध्यक्ष ओकिल सोरेनले गरिवलाई आय आर्जनमुलक कार्यक्रमले दैनिक सुधार्न सहज भएपनि बीउ पूँजी अत्यन्तै न्यून रहेको बताए । बाटो निर्माण भन्दा गरिबीको अवस्थामा सुधार ल्याउनुपर्ने बताउँदै पूँजी बढाउन आग्रह गरेका हुन् ।
बाख्रा पैंचोबाट सुरु भएको गरिबसंग विश्वेश्वर कार्यक्रम मार्फत प्राप्त गरेको सुँगुर र बिउँपूजीको माध्यमबाट हाल १२ जनाको परिवार धान्दै आएको सोरेनले बताए ।
२०५७ सालदेखि नै आवद्ध साविक जलथल–५ की विष्णुमाया तामाङले आफ्नो बाँच्ने आधार नै गरिवसँग विश्वेश्वर कार्यक्रम बनेको बताइन । दृष्टिविहिन छोराबुहारीसहित ४ जनाको परिवार बाख्रा पालनकै आम्दानी र समूह बचतबाट नै चलिरहेको उनको भनाई छ । आफूसंगै समूहमा आवद्ध हुनेहरु अति गरिबको सूचीबाट माथि उठेपछि समूह छोडेको बताउँदै उनले भनिन, ‘छोरा दुवै आँदा देख्दैन, बुहारी एउटामात्र देख्छ, यही कार्यक्रमबाट पाएको बाख्रा पालेर त्यसैको आम्ँदानीले खाँदैछौं, प्रगति गर्नेहरु छोडेर गए, हामी त्यही छौं । उनी पाथीभरा महिला समूहमा आवद्ध छिन् ।
वकिल सोरेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिबारी गाउँपालिका–४ का वडाध्यक्ष तथा तालिम समापन कार्यक्रमका प्रमुख अतिथि होम चुडालले गरिवसँग विश्वेश्वर कार्यक्रम अति विपन्न परिवारका लागि अत्यन्तै उपयोगी भएपनि राजनीतिक आस्थाका कारणले हेरिने हुँदा बजेट विनियोजन गर्न समस्या भएको बताएका छन् ।
झापाका साविकका १२ वटा गाविसमा अतिविपन्न समुदायमा परिचालित गरिवसंग विश्वेश्वर कार्यक्रमका लागि बजेट अत्यन्तै न्यून रहेको कार्यक्रम संयोजक प्रकाश उप्रेतीले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममार्फत जिल्लाका तीनहजार बढी परिवार लाभान्वित हुँदै आएका छन् ।
कार्यक्रममा विशेष अतिथि हल्दिबारी गाउँपालिका–३ का वडाध्यक्ष रोशनी शिवाकोटी, ४ का वडा सचिव जयप्रसाद पोखरेललगायतले मन्तब्य राखेका थिए ।
प्रतिमा भुजेलले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन मिना उप्रेती र महिमा राजवंशीले स्वागत गरेका थिए । गरिवसँग विश्वेश्वर कार्यक्रममा आबद्ध विभिन्न १० वटा समूहका ४० जनाको सहभागिता रहेको तालिममा केशव दाहाल, जयप्रसाद पोखरेल र नारायण गौतमले सहजीकरण गरेका थिए ।
२५ वर्षअघि देखि सरकारद्वारा सञ्चालित कार्यक्रममा पछिल्लो समय स्थानीय तहले बजेट विनियोजन नगर्दा कार्यक्रमको भविष्यबारे अन्योलता बढेको छ ।


































































