धरान : धरान उपमहानगरपालिका वडा नम्बर १७ को आयोजनमा शनिबार रेल्वेचौक स्थित पञ्चकन्या माध्यामिक विद्यालयको प्राङ्गढमा नशा, हाडजोर्नी तथा प्यारालाइसिसका विरामीहरुलाई निशुल्क परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्पार्क फाइभ हस्पिटल धरान १ को प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त निशुल्क स्वास्थ्य शिविरमा धरान १७ का १ सय ५० भन्दा बढि बिरामीले स्वास्थ्य परीक्षण गराई औषधी समेत लिएको १७ नम्बर वडा सदस्य सुवास वर्देवाले जानकारी दिएका छन् । गरिब तथा विपन्न परिवारका व्यक्तिहरुलाई उक्त निशुल्क स्वास्थ्य शिविरबाट लाभ दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा सचिव शिशिर श्रेष्ठले बताए ।

शिविरमा नशा, हाडजोर्नी तथा पक्षघात (प्यारालाइसिस) विशेषज्ञ चिकित्सक डा. अनिल कुमार महतो, डा. अजय अनोलका साथै स्वास्थ्य प्राविधिकहरु मिला बस्नेत, रोजन श्रेष्ठ, सुस्मा रम्तेल लगायतको टोलीले उपचार गराएका थिए । खानपान, खाद्यपदार्थ आदिका कारण दिनप्रतिदिन मानिसको स्वास्थ्यमा गम्भिर प्रकारका रोगहरु देखा पर्न थालेकाले समयमा नै स्वास्थ्य परीक्षण गराउनु पर्ने डा। अनिल कुमार महतोले बताए । गम्भिर प्रकारका विरामीलाई स्पार्क फाइभ हस्पिटलमा रेफर गरिएको र उक्त अवसरमा रेफर भएका विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था भएको वडा सदस्य सुवास वर्देवाले बताए ।

कार्यक्रमका अवसरमा १७ नम्बर वडा अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले हरेक परिवारमा एकजना मात्रै स्वास्थ्यसँग परिचित भए पुरै परिवार स्वस्थ हुने र परिवार स्वस्थ भए समाज स्वस्थ हुने अपेक्षासहित स्वास्थ्य शिविर आयोजना गरिएको बताए । सो अवसरमा वडा सदस्य फुलमाया परियार (कुसुम), मिना लावती, अस्थायी प्रहरी चौकी रेल्वेका प्रहरी सहायक निरीक्षक तिर्थ भट्टराई, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र रेल्वेकी स्वास्थ्यकर्मी रुपसरा मगर, वडा कार्यालयका कर्मचारीहरु सरु लिम्बु, सुखशान्त राई, बिनु खनाल, रुपा राई लगायतको उपस्थिति रहेको थियो ।