धनकुटा:लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पोसहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ ।

आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरानतर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क्रममा ४ किलो गाँजासहित पक्राउ परेका छन् । टेम्पोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ४ किलो लागुऔषध गाँजा फेला परेको थियो । गाँजा फेला परेसंगै टेम्पोमा सवार व्यक्तिहरुलाई सोधपुछ गर्ने क्रममा चालक सहित ४ जनाको नै संग्लग्नता खुलेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार टेम्पो चालक धरान उपमहानगरपालिका ११ का २० बर्षीय संजय लिम्बु, मोरङको बुढीगंगा गाउँपालिका ६ का १९ बर्षीय सोनु लिम्बु, २२ बर्षीय टंक लिम्बु र बुढीगंगा गाउँपालिका ५ का २० बर्षीय सोहन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।