धरान: १ नं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निर्माणाधिन ६ ले सडक बाइपास गर्ने कि बीच बजार भएरै लैजाने भनेर चाडो निर्णय गर्न धरानबासीहरुलाई आग्रह गरेका छन् ।

औजार दैनिक पत्रिकाको रंगीन शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मन्त्री कार्कीले धरानलाई प्रचुर सम्भावना भएर पनि ठगिएको सहरकोरुपमा चित्रित गरे । विशाल भुगोल र जनसंख्या भएको छिमेकी मुलुक चीन र भारत जोड्न जोगवनी–किमाथांका सडक विस्तारबारे धरानको दुई धारणा भएको भन्दै मन्त्री कार्कीले चाडो निर्णय गर्न आग्रह गरे । ‘धरान सहर धेरै पुरानो सहर हो । सम्भावना भएको तर ठगिएको हो कि भन्ने महसुस हुन्छ । यसको बाटो भएर जोगवनी किमाथांका सडक विस्तार हुदैछ । २१ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ । केही ठाउँ ६ लेन र अधिकांश ठाउँमा ४ लेन विस्तार हुन्छ,’मन्त्री कार्कीले भने,‘धरानमा २ धारणा छ । यही सडक बढाएर जाने हो कि दाँया, बाँया भएर जाने हो ? छिटो निर्णय गर्नुस् ।’

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्कीले निर्णय गर्न जति ढिलाई भयो, त्यति नै धरानलाई घाटा हुने र विकासमा पनि पछाडि पर्ने बताए । सडक कताबाट लैजाने भन्ने निर्णय अधिकार धरानबासीको भएको प्रष्ट्याउदै मन्त्री कार्कीले सडक विस्तारबारे आफ्नो निजी धारणा पनि राखेका थिए । ‘मेरो मत के छ भने यही अहिलेको सडक विस्तार गर्नुपर्छ, डाइभर्सन भयो भने धरान पहिलेको डेथ सिटी बनेजस्तै फेरी तपाई हाम्रो कारणले हुनु हुदैन, पछि पर्नुहुदैन,’मन्त्री कार्कीले भने । सुन्दर सहर भएर पनि धरानले खानेपानी समस्या भोग्नु विडम्बना भएको बताए । उनले खानेपानीको विवाद पनि चाडो सुल्झाउन आग्रह गरे ।

hikmat-karkie

साँस्कृतिक र पर्यटकीय महत्व भएको सहर धरानको वृहत्तर किवासको लागि साँस्कृतिक, धार्मिक, पर्यटकीय विकासको गुरुयोजना तयार गरेर प्रदेश सरकारमा ल्याउन पनि मन्त्री कार्कीले आग्रह गरे । धरानलाई पर्यटकीय गन्तव्य बनाउन संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको पनि उनले बताए ।

सुकम्बासी व्यवस्थापनमा मोडल पेश गर्न आग्रह

धरानमा ठुलो संख्यामा सुकुम्बासी रहेकोले यसको व्यवस्थापनमा धरान सरकारले मोडल प्रस्तुत गर्नुुपर्ने पनि मन्त्री कार्कीले बताए । आफैले नसक्ने भए प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय, सहकार्य गरेर सुकुम्बासी समस्या हल गर्ने सरकारको सोच रहेको उनले बताए । ‘सुकुम्बासीको व्यवस्थापन कुन मोडलमा गर्ने हो ? अब धरानले त्यो मोडल पेश गर्नुपर्छ । व्यवस्थापन गर्न के छ योजना ? ल्याउनुस्, सरकारले सहयोग गर्छ, छैन भने हामीले पनि नमुना परियोजना ल्याउने सोचेका छौ, मिलेर काम गरौ,’मन्त्री कार्कीले भने ।

धरान खेलकुदको केन्द्र

मन्त्री कार्कीले धरानमा खेलकुदको प्रचुर सम्भावना भएकोले प्रदेशकै खेलकुदको केन्द्र बनाउन प्रदेश सरकारले चाहेको बताए । यसको लागि आवश्यक प्रस्ताव लिएर प्रदेश सरकारमा आउन पनि उनले आग्रह गरे ।