विराटनगरः प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा रहने भएको छ ।

धनकुटा जिल्लाबासीहरुले प्रदेशको राजधानी नै धनकुटा घोषणा गर्न माग गरिरहेको भएपनि सरकारले भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय धनकुटा राख्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । धनकुटा साविकको पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा थियो । सोही कार्यलयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय रहने सरकारले निर्णय गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय खारेज भइसकेको छ ।

यसैगरी, प्रदेश सरकारले धनकुटामा यातायात सेवा कार्यालय पनि स्थापना गर्ने निर्णय गरेको छ भने कानुन मस्यौदा सुझाव समितिको म्याद थप गर्ने, कर्मचारी पदस्थापन तथा सरुवा सम्बन्धी कार्यविधि २०७६ लाई स्विकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । यस्तै, प्रदेश योजना आयोग गठन तथा कार्यसंचालन आदेश २०७५ लाई संशोधन गर्ने, प्रदेश नम्बर १ जाँचबुज तथा अनुसन्धान आयोगको गठन तथा काम कर्तव्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को अवधारणा पत्रलाई सैद्धान्तिक सहमति दिने पनि निर्णय गरेको छ ।

यस्तै, सेवा करारमा इन्जिनियर तथा सब इन्जिनियर छनोट गर्ने कार्यविधि स्विकृत गर्ने, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि २०७६ स्विकृत गर्ने र चैतेधान विशेष सहयोग कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५ स्विकृति दिने पनि मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ ।