धरान: किरात राईहरुले यसबर्ष पनि साकेला उभौली चाड धुमधामका साथ मनाउने भएका छन् ।

खासगरी किरातीहरुले वैशाखे पूर्णिमालाई उभौली र मंंसिरे पूर्णिमालाई उधौलीकोरुपमा मनाउने गरेका छन् । किरात राई यायोख्खा सुनसरीले यो बर्ष पनि विगतमा झैं प्रदेश नं. १ को नामकरण किरात प्रदेशको मागसहित जेठ ४ गतेदेखि १८ गतेसम्म १५ दिन धुमधामका साथ साकेला नाचेर उभौली मनाउने भएको हो । किरात राई यायोख्खा सुनसरीले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो ।

प्रदेश नंं. १ को राजधानी विराटनगर भएपनि नामकरण थाती रहेको र प्रदेशको नाम किरात हुनुपर्छ भनेर दबाब दिने उद्देश्यले साकेलामार्फत अभियान चलाइने यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईले जानकारी दिए । उनले यो चाड अवधिभर स्थानीयदेखि लिएर केन्द्रीय नेताहरुलाई समावेश गर्ने समेत जानकारी दिए । 'यसपाली साकेला उभौलीको अवसरमा पनि हामीले संस्थागतरुपमा नै १ नं प्रदेशको नाम किरात प्रदेश हुनुपर्छ भन्ने मागलाई साँस्कृतिक अभियानकैरुपमा विगतका बर्षहरुजस्तै अघि बढाउदैछौ,'अध्यक्ष राईले भने ।

उभौलीको पहिलो दिन जेठ ४ गते यायोक्खाको धरान १३ प्रकासको आयोजनामा बुद्धिकर्ण राईको विजयपुर दरबार क्षेत्रमा र इटहरी ५, ७ को संयुक्त आयोजनामा काब्य बाटिका इटहरीमा धुमधामका साथ पूजाअर्जना गरी शुरुवात गरिने यायोख्खा सुनसरीका प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए । कार्यक्रम अनुसार वैशाख ५ देखि १८ गतेसम्म सुनसरीको विष्णृुपादुका, पकली, प्रकाशपुर, पाँचकन्या, हाँसपोशा, बराहक्षेत्र, इटहरी, दुहवी, धरान, भरौल, बक्लौरी हुदै अन्तिम दिन अर्थात वैशाख १८ गते धरान १७ साकेला पार्कमा प्रकासस्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीसँगै कार्यक्रम सम्पन्न हुने प्रचारप्रचार उपसमितिका संयोजक चाम्लिङले बताए ।

समय राम्रो होस, अन्नबाली सप्रियोस, सह बसोस र अनिकाल नलागोस, सबै जीव प्राणीहरुमा सुख होस भन्दै सिमेभुमे पूजा गरी साकला नाचेर नयाँ अन्नबाली लगाउने चाड साकेला उभौलीको रुपमा किरात राईहरुले लिने गरेका छन् । समापन कार्यक्रम पश्चात यसपाली वाबु साँझ पनि कार्यक्रम आयोजना गरिने सचिव राजेन्द्र राईले जानकारी दिए । जेठ ११ गते भानुचोकमा आयोजना हुने वृहत साकेला सिली प्रर्दशनीमा नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला प्रमुख अतिथि रहनेछन् ।