सिड्नी : अस्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार चर्चित नेपाली फेशन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार  भएको दर्जनौ आकर्षक पहिरनहरुमा सजिएर  सिड्नीमा रहेका नेपाली मोडलहरुले र्याम्प नापेका छन् ।

आफ्नो अढाई दशक लामो फेशन डिजाइनिङ क्यारियरमा पहिलो पल्ट नेपाल बाहिर आफ्नो एकल डिजाइनमा फेशन डिजाइनर  उत्तम बनेपालीको एकल फेशन शो “योर स्टाइल फेशन नाइट २०१९” आयोजना भएको हो । रेट्रो, ट्रेडीशनल, क्याजुअल, लेहेंगा , पार्टीवेयर लगायतका ६ वटा सिक्वेन्समा १९ जना पुरुष तथा  महिला मोडलहरुको  र्याम्पवाकले हल दर्शकहरुको तालीले गुन्जायमान भएको थियो । "शो"को अन्त्यमा प्रमुख आकर्षण चर्चित मोडल तथा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह आकर्षक लेहंगामा सोस्टपरको रुपमा  र्याम्पमा उत्रिएकी थिईन   । उनि संगै फेशन डिजाइनर उत्तम बनेपालीले पनि र्याम्पमा ओर्लिए   । 

इम्पायर एजुकेशन र इजी होमको प्रस्तुति र अस्ट्रेलियाका  प्रदिप कडेल,  स्वतन्त्र प्रताप शाह र  योर स्टाइल अस्ट्रेलियाले आयोजना गरेको “योर स्टाइल फेशन नाइट २०१९” को इभेन्ट म्यानेजमेन्ट नमित चन्द ठकुरी, कोरियोग्राफी निराजन लुइँटेल र कार्यक्रम संचालन उषाकिरण बारियाले गरेका थिए ।