बिराटनगर: आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि आज ७ वटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दैछ । प्रदेश नं १ सरकारले पनि ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

चालु आर्थिक वर्ष २०७५ /०७६ मा प्रदेश सरकारले ३५ अर्व ९३ करोडको बजेट ल्याएको थियो । आगामी बर्षको लागि सरकारले ४० देखि ४३ अर्बको हाराहारीमा बजेट ल्याउने अनुमान छ । आगामी बर्षको बजेटले कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने आर्थिक मामिला मन्त्रालयले जनाएको छ । बजेटको ४० प्रतिशत भन्दा बढी रकम पूर्वाधार विकासमा विनियोजन हुनेछ । यस्तै, प्रदेश गौरवको आयोजनाको रुपमा झापाको केचनाकवलदेखि सगरमाथासम्मको सडकलाई विशेष प्राथमिकतामा राखिने छ । यस्तै, धरानदेखि धनकुटाको मूलघाटसम्म सुरुङ मार्ग निर्माणको योजनालाई पनि प्रदेश सरकारले महत्व दिएको छ ।

सरकारले बजेटमा समानुपातिक सांसदहरुलाई पनि विकासका योजना दिने गरी बजेट ल्याउन लागेको छ । यसअघि प्रत्यक्षमा विजयी भएका सांसदलाई मात्र योजनाको लागि बजेट दियएको थियो । समानुपातिक सांसदहरुले यसमा असन्तुष्टी जनाउदै आएका थिए । प्रदेभसभामा ९३ जना सांसद छन् । ती सबै सदस्यहरुलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने सरकारको तयारी छ । चालु आर्थिक बर्षमा प्रत्यक्ष निवार्चित सांसदलाई २ करोडका दरले बजेट दिइएको थियो । आगामी बर्ष एक करोड थपेर प्रत्यक्ष सांसदलाई ३ करोड बजेट दिने तयारी छ । 'समानुपातिकले ५० लाख र प्रत्यक्ष निवार्चित सांसदले ३ करोड ५० लाखको योजना पाउनेछन्,'आर्थिक मामिला मन्त्रालय स्रोतले भन्यो । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निवार्चित सांसद छन् ।