इटहरी : उद्योग बाणिज्य संघ इटहरीको आसन्न असार १४ गते हुन लागेको निर्वाचनको चुनावी सरगर्मी बढेको छ ।
यतिबेला इटहरीका चिया पसलदेखि व्यापारीहरुका घरदैलोसम्म देखिन्छन्, व्यापरी नेता । दुई पक्षबीच अध्यक्षका प्रत्यासीद्धय यतिबेला व्यापारीहरुका समस्या बुझ्न घरदैलो अभियानमा व्यस्त त छन् नै । तर, उनीहरु एक अर्काबीच आरोप प्रत्यारोपमा पनि उत्तिकै व्यस्त रहेका छन् ।
एकपक्षबाट बर्तमान कार्यसमिति बरिष्ठ उपाध्यक्ष शैलेस बिष्ट अध्यक्ष पदका दाबेदार हुन् भने अर्कोपक्षबाट बर्तमान कार्यसमिति सदस्य भीम पौडेल अध्यक्षका दाबेदार हुन् । अहिले इटहरी उवासंघको चुनावले स्थानीय तह वा प्रतिनिधिसभाको चुनाव जस्तो झल्को दिएको स्वयम् व्यापारीहरु नै बताउँछन् । अध्यक्ष पदका उमेद्धार बिष्ट भन्छन्, ‘मैले यो चुनावलाई इजि रुपमा लिएको छु, साथीहरुले संघ र प्रदेशको चुनाव जस्तो प्रपोगाण्डा बनाउने काम गर्नुभयो ।’ उनले चुनावलाई उच्छृङ्खल बनाउँन खोजिएको आरोप लगाउँदै कपुरीसँग भने, ‘व्यवसायीलाई भट्टीमा बोलाउने सामाजिक सञ्जालमा व्यक्तिगत लाञ्छना लगाउने काम भईरहेको छ, एउटा गरीबको छोरोले नेतृत्वमा आउन नहुने हो ?’ उनले पौडेल नेतृत्वको समूहले राजनीति गरेको आरोप लगाउँदै भने, ‘हामीले व्यवसायीक कोणसभामा राजनीतिक व्यक्तित्वलाई लगेका छैनौँ, मेरा प्रतिवद्धताहरु उहाँले ५० प्रतिशत चोरी गर्नुभएको छ ।’ उनले उद्योग बाणिज्य संघको ९ वर्षदेखिको लथालिङ्ग अवस्थामा रहेको भवन आँफूले बनाएको दाबी गरे । ‘उहाँले भवन निर्माण समितिको संयोजक हुँदा एक तला भवन ढलाई गर्नुभएको हो,’ बिष्टले भने, ‘तीन वर्षमा जम्मा एक तला ढलाई भयो, मैले बनाएको भवन हो त्यो ।’ उनले पौडेलले झुठो मुद्धा उठाएर चुनाव जित्ने दाउमा रहेको आरोप लगाए । बिष्टले आँफूले पौडेल भन्दा अब्ब्ल तरिकाले नेतृत्व गर्न सक्ने व्यक्ति रहेको दाबी गरे ।
यता भीम पौडेलले पनि आँफूले उद्योगी व्यवसायीका लागि काम गर्दै आएको बताए । उनले भने, ‘काम भनेको गरेर देखाउँने हो, उहाँ (बिष्ट) बोल्नु मात्र हुन्छ, काम के भएको छ र ?’ पौडेलले आँफूले बोल्ने भन्दा पनि व्यवसायीको हितको पक्षमा काम गर्नका लागि अध्यक्ष पदमा उमेद्धारी दिएको बताउँदै भने, मैले हजारौँ मानिसहरुलाई रोजगारी दिएको छु, म उनीहरुसँगै काम गर्छु, व्यापारीलाई कतै समस्या परेको खण्डमा निस्वार्थ काम गरेको छु, अनि म कसरी अरु भन्दा कमजोर ?’ उनले आँफूले जन्मदा केही लिएर नआएको र मर्दा पनि केही नलाने कुरा उदृत गर्दै भने, ‘उद्योग बाणिज्य संघको भवन निर्माण समितिको संयोजक भएर भवन हामीले बनाएका हौँ ।’ इटहरी उपमहानगरपालिकाले व्यापारीहरुसँग चर्को कर लिएको बताउँदै उनले वर्तमान बाणिज्य संघका पदाधिकारीहरुले करको विषयमा कदम नचालेको आरोप लगाए । ‘साथीहरुले व्यवसायीलाई पटक–पटक ढाट्नुभयो,’ उनले भने, ‘अब हामी काम गर्न आएका छौँ, राजनीति भन्दा माथि उठेर हाम्रो नेतृत्वले काम गर्नेछ ।’ उनले आँफू बीसौँ वर्ष अगाडिबाट व्यवसाय गरेको र विभिन्न ठाउँमा सामाजिक योगदान समेत गरेको बताउँदै भने, ‘कतै बाटो बनाएको छु, कतै ट्याक्टर र घर बनाइदिएको छु, विभिन्न ठाउँमा सहयोग गरेको छु, यो गर्न नहुने हो र ?’ उनले आँफू बिष्ट भन्दा अब्बल नेतृत्व गर्न सक्ने दाबी गरे ।
यसरी दुवै पक्षको कुरा सुन्दा यतिबेला व्यवसायीहरु एक अर्काबीच आरोप प्रत्यारोपमा पनि व्यस्त छन् । उनीहरु दुई मध्ये एकजना जो कोहीले चुनाव जितेपनि राजनीति भन्दा माथि उठेर व्यवसायीको पक्षमा काम गर्नु आवश्यक रहेको छ ।






































































