धरान: मर्निङवाक गर्दै गर्दा आज बिहान करिब पौने ६ बजे लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
आज बिहान धरान १५ श्याम चोक ज्ञानचक्चु मार्ग बस्ने बर्ष ४० कि कमला गौतम मर्निङ वाक गर्दै पिण्डेश्वरी, दन्तकाली हुदै मेरीगोल्ड स्कुल छेउ आइपुग्ददा सुनको सिक्री लुटेर दुई जना लुटेराहरु भागेका थिए । उनको अढाई तोलका सुनको सिक्री लुटेर दुई जना भागेका थिए । यो घटना लगत्तै सादा पोशाकमा खटिएको प्रहरीले सिक्रीसहित पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्ने लुटेराहरु तेह्रथुम आङ्दिम ३ घर भई हाल धरान ३ बस्ने बर्ष २० को राम कुमार दर्लामी मगर र धरान ३ बस्ने बर्ष १८ को बिनोद राईले रहेका छन् । उनीहरुले सिक्री लुटेर भाग्दै गर्दा महिलाहरुले खेदाएका थिए । प्रहरीलाई पनि खबर गरेपछि तत्काल प्रहरी पुगेको थियो । एउटा होटलमा छिरेर लुकेको अवस्थामा लुटेरा पक्राउ परेका थिए । उनीहरुलाई सिक्रीसहित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।
डिएसपी ढुण्डीराज न्यौपानको अनुसार यसअघि पनि मर्निङ वाकको क्रममा एक महिला लुटिएकी थिइन् । उक्त घटनामा संलग्न लुटेराबारे पनि आज पक्राउ परेकाहरुले सुराकी दिएपछि पक्राउ परेका छन् । 'त्यो घटनामा संलग्नलाई पनि पक्राउ गरेर ल्याउदैछौं, सामान के गर्यो भनेर थप खुल्छ,'डिएसपी न्यौपानेले भने ।


































































