धरान : तीन दिनअघि सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश मातहतका सचिव र कार्यालय प्रमुखहरुलाई आकस्मिकरुपमा बोलाएर मिडियाकै अघि घुस, कमिशन असुली भइरहेको भन्दै सह्य नहुने चेतावनी दिएका थिए । उनले यो कदम मात्र मिडियामा चर्चा कमाउन गरेका थिएनन् ।

आकस्मिक बैठक बोलाउनुअघि नै भोजपुरमा एक इञ्जिनियर घुससहित पक्राउ परिसकेका थिए भने प्रदेशकै उच्च सरकारी अधिकारीहरुले घुस, कमिशन असुली गरिरहेको सुचना पनि मुख्यमन्त्री कार्यालयमा पुगिसकेको थियो । आफुले पाएको सुचना विश्वस्त भएपछि मुख्यमन्त्री राईले आकस्मिक बैठक मात्र बोलाएनन्, दुई उच्च अधिकारीलाई सरुवा नै गरे । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेलाई सरुवा गरेका छन् भने इटहरीस्थित यातायात र लाइसेन्स कार्यालयका प्रमुख भीम गौतम पनि मुख्यमन्त्री कार्यालयमा तानिएका छन् । 'दुवैको बिषयमा धेरै सुचना आएपछि सरकारले यो कदम चालेको हो,'मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।

स्रोतका अनुसार मन्त्रालयका सचिव घिमिरे संघीय सरकारको खानेपानी मन्त्रालयमा तानिएका छन् भने । उनी ३ महिना अघि मात्र प्रदेश १ मा सरुवा भएर आएका थिए भने २ महिना पछि मात्र अवकाश हुदैथिए । 'समायोजन भएर आउने कर्मचारीहरुलाई अनावश्यक दुःख दिने, योजनाहरुबाट पैसा माग्ने, सताउने गरेको भन्ने गोप्य सुचना आएको थियो, उनलाई खानेपानी मन्त्रालयले तान्यो,'स्रोतले भने ।

यस्तै, इटहरीस्थित यातायात र लाइसेन्स दुवै कार्यालयको प्रमुख गौतम पनि मुख्यमन्त्री कार्यालय तानिएका छन् । दुई अलग अलग कार्यालय भएपनि उनी दुवै कार्यालयको प्रमुख भएर इटहरी आएका थिए । उनी दिउँसै कार्यालयमा मापसे गरेर आउने र पैसा असुल्ने गरेको सुचना मुख्यमन्त्री कार्यालयमा पुगेपछि तानिएका हुन् ।