झापा : नेपाल–भारत जोड्ने झापा काकडभिट्टास्थित मेची नदीको निर्माणधिन पुलको काम तीब्ररुपले अघि बढीरहेको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा भारतले बनाईरहेको पुलको १६ वटा पिल्लर मध्ये अब एउटा पिल्लर मात्र निर्माण गर्न बाँकी छ । त्यसको समेत निर्माणको काम सुरु भईसकेको छ । नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला सन् २०१५ मा करिब १ सय ६० करोड भारतीय रुपैयाको लागतमा यो पुल निर्माण भारत सरकारले बनाईदिने सहमति भएको थियो । जसअनुरुप सन् २०१७ बाट पुल निर्माणको काम सुरु भएको हो । सन् २०२० सम्ममा पुल माथीबाटै सवारीसाधान आवतजावत गराउने लक्ष्य राखिएको छ ।
भारततर्फ सडक निर्माण, नेपालतर्फ अझै अन्यौल
मेची पुल बनाउन सुरु गर्नु अघिनै भारतले आफ्नो भुमीमा सडकको स्तरवृद्धि लगायतका काम सम्पन्न गरिसकेको छ । नेपालतर्फ भने अहिलेसम्म कुनै तयारी गरिएको छैन । त्यसैले मेची पुलको निर्माणसँगै नेपालले पनि आफ्नो क्षेत्रमा सडक मार्गको स्तर बढाउनु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । व्यवसायी केशराज पाण्डे भन्छन्,“पूर्वी नाका काँकडभिट्टा र भारतको पानीट्यांकी जोड्ने मेची नदीमा भारतले नयाँ पुल बनाइदिएपछि झन् भारत तथा अन्य छिमेकी मुलुकसँगको व्यापार वृद्धि हुन्छ ।”
उक्त पुल निर्माण पश्चात सडकमार्गमार्फत हुने व्यापारको मात्रा निकै फस्टाएर जाने नेपाली अधिकारीहरु बताउँछन् । नेपाल र भारतबीचको व्यापार प्रवद्र्धन मात्र नभएर अन्य छिमेकी देशहरुसँगको व्यापार पनि वृद्धि हुने प्रशस्त सम्भावना रहेको व्यवसायीहरु देख्छन । साँघुरो तथा जीर्ण भएको पुरानो मेची पुलमा मालवाहक सवारी साधनको आवागमन निकै असहज हुने गरेको छ ।
मुआब्जा विवाद सकियो, नेपालपट्टिको कामपनि तिब्र गतीमा
नेपालपट्टि नेपाल भारत जोड्ने नयाँ मेची पुलको खम्बा र सडक बन्नुपर्ने स्थानमा बसोबास गरिरहेका स्थानीयबासीलाई सरकारले मुआब्जा वितरण गरेको छ । मुआब्जा पाएपछि स्थानीयबासीले जग्गा खाली गरेका छन् । स्थानीयले जग्गा खाली गरेसँगै नेपालपट्टि पुल बनाउने कामलेपनि निरन्तरता पाएको छ ।
भारतपट्टि पुलका खम्बा बनिसक्दा पनि नेपालपट्टि मुआब्जाको समस्या थियो । तर त्यहाँ बसोबास गर्ने ४३ घर परिवारलाई मुआब्जा वितरण गरेपछि जग्गा खाली भएर पुल निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । घर टहरा मात्र भएका ३९ घर परिवारलाई २ करोड २० लाख रुपैयाँ मुआब्जा उपलब्ध गराइएको उनले बताए । बाँकी ४ घर परिवारलाई जग्गाको लालपुर्जा भएका कारण १ करोड १७ लाख रुपैयाँ मुआब्जा उपलब्ध गराइएको थियो ।