धरान : धरानमा बंगुरको मासुमा वृद्धि गरिएको मुल्य बुधबारदेखी लागू हुने भएको छ । धरान मासु व्यावसायि संघले बंगुरको मासुमा प्रतिकेजी २० प्रतिशत मुल्य बृद्धि गदै बुधबारदेखी धरानका मासु पसलहरुमा लागू गर्ने भएको हो ।

प्रतिकेजी ६० रुपैयाँ बृद्धि भएको छ । बंगुरको मासु प्रतिकेजी ३ सय रुपैयाँले उपभोग गदै आएपनि अब ३ सय ६० रुपैयाँ पुगेको छ । संघका अध्यक्ष मदन कुमार तामाङको अध्यक्षतमा गत शुक्रबार बसेको धरानका बंगुरको मासु व्यावसायिहरुको भेलाले बंगुरको मासु प्रतिकेजी २० प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो ।
संघका सचिब लक्ष्मण कुरुङभङ लिम्बुले बंगुरको मासुमा २० प्रतिशत मुल्य बृद्धि गरिएको बताए । ‘बंगुरको मासुको मुल्य प्रतिकेजी २० प्रतिशत बढाएका छौं’ उनले फोनसम्पर्कमा भने ‘धरानका सबै बंगुर मासु पसलमा बुधबारदेखी बृद्धि गरिएको मुल्य लागू हुन्छ ।’ उनले मुल्य बृद्धि गरिएको बारे धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, उपभोक्ता हक हित संरक्षणमञ्च, उद्योग बाणिज्य संघलगायतलाई जानकारी पत्र पठाइसकिएको समेत जनाए ।
उनले दाना, पाठा पाठीको भाउ बढ्दा बंगुर कृषक पलायन हुने अवस्थामा पुगेको र मासुको लागि जिउदो बंगुर पाउन छाडिएको कारणले बाध्य भएर समय अनुसार थोरै मुल्य बृद्धि गरिएको दाबी गरे । ‘बंगुरको चारो, दाना, पाठापाठी सबैमा मुल्य बढेको बढेकै छ, कृषकलाई घाटा छ, त्यसैले समय अनुसार थोरै मुल्य बृद्धि गरियो’ उनले भने ‘धरान बाहिर बंगुरको मासुको मुल्य बढाइएको छ, तर धरानमा चार वर्षदेखी मुल्य बृद्धि गरिएको थिएन ।’
यता उपभोक्ता हक हित संरक्षण मञ्च क्षेत्र नम्बर १ का अध्यक्ष उद्धव श्रेष्ठले बंगुरको मासुको मुल्य बृद्धि गर्नुपर्ने आवश्यक रहेपनि सरोकारवाला सबैसंग बसेर छलफल गरेर बृद्धि गर्दा उचित हुने बताए ।
‘समय अनुसार मुल्य वृद्धि गर्नुपर्छ, तर सरोकारवाला सबैसंग बसेर छलफल गरेर मुल्य बढाउदा हुन्थ्यो’ उनले भने ‘मैले पनि हिजोमात्र चिठी पाँए, मुल्य बृद्धि गर्दा उपभोक्तामा असर पर्छ की पर्दैन, त्यसबारे हामीले पनि केही गृह कार्यगर्ने समय नै पाएनौं ।’
उनले यस बारेमा आफुले धरान उपमहानगरपालिकालाई जानकारी गराएको बताए । संघको तथ्याङक अनुसार धरानमा दैनिक ३ हजार देखी ४ हजार ५ सय केजीसम्म बंगुरको मासु खपत हुने गरेको छ ।