काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन ।
एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणपनि गराउने छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ ।
केही दिन आराम गर्न र स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन् ।
‘दैनिक कार्यसम्पादनमा धपेडी भयो । राति दुई बजेसम्म काम गर्नुहुन्छ । विहानै उठ्नुपर्छ । निकै धपेडी छ । त्यसैले उहाँ निकटस्थले पनि केही दिन देशबाहिर गएर आराम गर्न सुझाव दिएका छन्’, डा. सिंहले भनिन,‘हामीले पनि आराम गर्न सुझाएका छौं । सिंगापुरमा उनको स्वास्थ्य परीक्षण पनि हुनेछ ।’ नागरिक दैनिकबाट